बडादशैंको अवसर पारेर कास्की माछापुच्छ्रे गाउँपालिका–१ स्थित हिमाली आधारभूत विद्यालयको खेल मैदानमा आयोजना गरिएकोको गाउँगाउँबीचको मैत्रीपूर्ण फुटबल खेलका क्रममा उत्पन्न विवादले झडपको रुप लिएको छ । गाउँपालिकाका रुम्जा र मिर्सा गाउँबिच खेल भइरहँदा खेलकै विषयलाई लिएर सामान्य विवाद भएपछि ठूलो रुप लिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता रविन्द्रमान गुरुङले बताए । खेल भएको दिन कार्तिक ३ गते विवाद हुँदा सोही दिन साँझ मिर्सा गाउँका युवाहरु मादक पदार्थ प्रयोग गरी रुम्जा गाउँका युवाहरुमाथि लाठी प्रहार गरी फरार भएका थिए । प्रहारबाट रुम्जा गाउँकी चन्द्रकुमारी पुन, धनबहादुर मगर, आनन्दकुमार पुन, सुजन पुन सख्त घाइते छन् । घटनामा संलग्न गाउँपालिका १ मिर्सा बस्ने वर्ष ३० का खजना गुरुङलाई सोही दिन पक्राउ परेका थिए । अन्य फरार ५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको कमाण्डले आज सोमबार पक्राउ गरी सार्वजनिक गरेको हो ।