नेपालमा आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) आगामी सेप्टेम्बरमा हुने भएको छ। आइतबार बसेको तयारी तथा व्यवस्थापन समितिको बैठकले सन् २०१९ को सेप्टेम्बर र अक्टोबरमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको नयाँ मिति तय गरेको हो। यसअघि आगामी मार्चका लागि मिति तय भएको थियो । २०७२ सालको भूकम्पले क्षति पुगेका संरचनाको मर्मतसम्भार गर्न अझै केही महिना लाग्ने भएकाले प्रतियोगिताको मिति ६ महिना पर सार्ने निर्णय गरिएको मन्त्री विश्वकर्माले जानकारी दिनुभएको अन्नपूर्णपोस्ट अनलाइनले लेखेको छ। काठमाडौं, ललितपुर, पोखरा र कीर्तिपुर गरी चार सहरमा आयोजना हुने प्रतियोगितामा २७ खेल प्रस्तावित गरिएको छ। हक्कीलाई भने वैकल्पिक खेलमा राखिएको छ । बैठकले विभिन्न ६ उपसमिति पनि गठन गरेको सदस्य विनोद श्रेष्ठले जानकारी दिनुभयो। । ‘आइतबार बसेको बैठकले १३औं सागको नयाँ मिति निर्धारण गरेको भने विभिन्न ६ उपसमिति पनि गठन गरिएको छ’ श्रेष्ठले भन्नुभयो।