अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङले वार्ता गर्नका लागि भन्दै नयाँ व्यापार करहरूलाई ९० दिनसम्म स्थगन गर्ने सहमति गरेको अमेरिकाले जनाएको छ। 

बोयनस आइरिजस्थित विश्वका २० प्रमुख अर्थतन्त्रहरूको समूह जी२० सम्मेलन सकिएपछिको बैठकमा ट्रम्प २ सय अर्ब डलर बराबरका चिनियाँ सामानहरूमा कर नबढाउन सहमत भएका हुन्। 

चीनले कृषि, उद्योग र ऊर्जासम्बन्धी सामानहरू उल्लेख्य मात्रामा किन्न चाहेको पनि अमेरिकाले जनाएको छ।

यसैबीच, बेइजिङले दुवै पक्ष आफ्ना बजारहरू खुला गर्न सहमत भएको जनाएको छ। 

विवाद

यो वर्षको शुरूमा देखापरेको व्यापार युद्धयता दुई नेताबीच प्रत्यक्ष बैठक भएको यो पहिलोपटक हो। 

ट्रम्पले चीनले दुईपक्षीय व्यापारमा अतिरिक्त लगाइएको ठूलो करबारे केही पनि नगरेको भनेर गुनासो गरेपछि दुई देशबीच विवाद चर्किएको थियो। 

आर्जेन्टिनाको राजधानीमा भएको सम्मेलनमा जी २० का नेताहरूले एउटा संयुक्त घोषणा जारी गरेका छन्। 

व्यापार युद्धतस्वीर कपीराइटGETTY IMAGES

ह्वाइट हाउसले एउटा विज्ञप्ति जारी गर्दै ट्रम्प र सी ले एकदमै सफल बैठक गरेको जनाएको छ। 

उसले चिनियाँ सामानहरूमाथिको अमेरिकी कर ९० दिनसम्म लागू नहुने भन्दै चेतावनी दिएको छ, यदि यो समयको अन्त्यसम्म पनि दुवै पक्ष सहमतिमा पुग्न नसके १० प्रतिशत कर बढेर २५ प्रतिशतसम्म पुग्ने छ। 

तनाव

चीनले दुई देशबीचको असन्तुलित व्यापार घटाउनका लागि अमेरिकाबाट उल्लेख्य मात्रामा कृषि, ऊर्जा, उद्योगसम्बन्धी र अन्य सामानहरू किन्ने सहमति गरेको अमेरिकाले बताएको छ। 

ट्रम्पले यसअघि आफूले अमेरिकी प्रविधि र बौद्धिक सम्पत्ति अनधिकृत रुपमा चीनमा पठाइएको भन्दै त्यसलाई रोक्न चाहेको बताएका थिए।

चीनका विदेशमन्त्री वाङ यीले वार्तापछि पत्रकारहरूसँग बोल्दै भने, "अहिलेको सैद्धान्तिक सहमतिले दुई देशबीच आर्थिक तनाव फैलन नदिन प्रभावकारी रुपमा काम गरेको छ।"

उनले यो नयाँ कदमले दुवै पक्षलाई जितको सहकार्यका लागि ठाउँ बनाएको बताएका छन्। तर चिनियाँ सरकारी सञ्चारमाध्यमले भने वार्ताहरू जारी रहने जनाएको छ । 

(BBC)