चितवन राष्ट्रिय निकुञ्जमा आज (बुधबार) देखि प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान प्रतिवन्ध गरिएको छ। प्लास्टिकजन्य बस्तु लैजाँदा सुरक्षामा खटिएका सुरक्षाकर्मीले रोक्नेछन् र प्लाष्टिकको झोला त्यही राख्नुपर्ने व्यवस्था गरिएको नेपाल खबर अनलाइनले लेखेको छ।
कपडाको झोला चाहिँ लान सकिने गरी सूचना पाटीमा लेखिएको छ, ‘प्लाष्टिक नाई भन्नु ल !’ तत्कालका लागि प्लाष्टिकका झोलाबाहेक अन्य सामग्री लैजान पाए पनि सुरक्षा पोष्टमा टिपाएर कपडाको झोलामा राखेर मात्रै लान पाइने छ।
फर्कंदा ती सामग्रीका खोल आफूसँगै फिर्ता ल्याउनुपर्ने छ। अन्यथा कारवाहीमा हुनेछ। पहिलो चरणमा झोलाबाट शुरुआत गरिएको भए पनि क्रमशः पानीका बोतल, खानेकुरा हुँदै पूर्णरूपमा प्लाष्टिकजन्य वस्तु निषेध गने चितवन राष्ट्रिय निकुञ्जको तयारी छ।
मङ्गलबारदेखि निकुञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले निकुञ्जभित्र प्लाष्टिकको झोला नलैजान, त्यसको विकल्पमा कपडाको झोला प्रयोग गर्न, प्लाष्टिकको बोतलसँगै प्लाष्टिकजन्य फोहरलाई निकुञ्जभित्र नछोड्न र त्यसलाई बाहिर सुरक्षा जाँच गर्ने ठाउँको डस्विनमा राख्न आग्रह गर्नु भएको छ।