काठमाडौं : एएफसी यू-१६ च्याम्पियनसिप छनोट प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सञ्चालन हुँदैछ। एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रमअन्तर्गत नेपालले समूह ‘ई’ को छनोट खेल सञ्चालन गर्न लागेको हो। च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। च्याम्पियनसिपका लागि नेपाली टोलीले दुई महिनादेखि तयारी गरिरहेको छ। नेपालले यसै प्रतियोगिताको तयारीका लागि हालै भुटानमा सम्पन्न यू- १५ महिला साफ च्याम्पियनसिप खेलेको थियो। गंगा गुरुङको प्रशिक्षणमा रहेको नेपाली टोलीमा साफ खेलेका खेलाडीकै वर्चस्व रहेको छ। समूहमा नेपालसहित फिलिपिन्स, म्यानमार र मलेसिया रहेका छन्। सहभागी सबै टोली र एएफसीका म्याच अफिसियल नेपाल आइसकेका छन्। नेपालले समूहको पहिलो खेल असोज ३ गते फिलिपिन्स, दोस्रो खेल ५ गते म्यानमार र तेस्रो खेल ७ गते मलेसियासँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यू-१६ च्याम्पियनसिपको फाइनल चरणका लागि छनोट हुनेछन्। नेपालले शीर्ष दुईमा रहँदै छनोट चरण पार गर्ने लक्ष्य राखेको छ। प्रतियोगिता सञ्चालनका लागि एक करोड ३५ लाख रुपैयाँ लगानी हुने एन्फाले जनाएको छ। जसका लागि एएफसीबाट एक लाख २० हजार अमेरिकी डलर सहयोग प्राप्त भएको बताइएको छ।