नेपाल खेलकूद महा संघ द्वारा जानकारी नगराई कमिटी पुनर्गठन

[[IMG_ALT]]

www.bsgnews.com | Sports | Jestha 17

काठमाडौं । पार्टी एकीकरण भएपछि कुनै पनि भातृसंगठन वा पेशागत संघ संगठन गठन पुनर्गठन गर्न नेपाल कम्युनिष्ट पार्टीले रोक लगाएको छ । तर पूर्वएमालेको खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले मंगलबार महासंघको काठमाडौं जिल्ला पुनर्गठन गरी केशव श्रेष्ठलाई अध्यक्ष बनाएका छन् । कोटेश्वरको एक पार्टी प्यालेसमा भएको विस्तारित बैठकले केशव श्रेष्ठको अध्यक्षतामा खेलकुद महासंघ पुनर्गठन गरेको कुराले महासंघकै पदाधिकारी समेत चकित परेका छन् ।

महासंघका महासचिव टेण्डी शेर्पालगायतका पदाधिकारीलाई थाहा नै नदिई अध्यक्ष पौडेलले विस्तारित बैठक राखेर मन लागेका मानिसहरुलाई राखी कमिटी पुनर्गठन गरेका छन् । महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल र उनैले मौखिक रुपमा काठमाडौं इन्चार्ज बनाएका सुदर्शन गुरुङले सुटुक्क केशव श्रेष्ठलाई अध्यक्ष बनाएर कमिटी पुनर्गठन गरेका छन् । १०–१२ बर्ष जापानमा बसी पैसा कमाएर फर्किएका सुदर्शन गुरुङलाई पौडेलले केन्द्रीय सदस्य बनाएर काठमाडौंको इन्चार्ज बनाएका छन् । र, उनैको सल्लाहमा कसैलाई पनि थाहा नदिई महासंघ काठमाडौं पुनर्गठन गरेको आरोप छ ।

पार्टीले कुनै पनि कमिटी गठन पुनर्गठन वा अधिवेशनमा रोक लगाएको अवस्थामा विस्तारित भेला गरी कमिटीमा आफ्ना अनुचरहरुलाई राखेपछि पौडेल र गुरुङमाथि कारबाही गर्न खेलकुदकर्मीहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै आग्रह गर्ने तयारी गरेका छन् ।

श्रेष्ठ महासंघका कार्यवाहक अध्यक्ष थिए । महासंघका महासचिव टेण्डी शेर्पाले अवैधानिक रुपमा कमिटी गठन गर्नेहरु कारबाहीको भागिदार हुनुपर्ने संकेत गरेका छन् । महासचिव शेर्पाले महासंघ काठमाडौं जिल्ला कमिटी पुनर्गठन भएकोबारेमा सामाजिक संजालमा लेखेका छन्–‘चमत्कार नै भएछ त काठमाण्डु जिल्ला खेलकुद महासंघ पुनर्गठन भएकोमा । म पनि त महासंघको महासचिव नै हो, मलाई थाह भएन गठन भएको । महासचिवको नाताले हामीले पनि पार्टी संगठन विधि विधान बुझेकै छौं । यदि यो प्रक्रिया वैधानिक हो भने चमत्कार नै हो, हँसींमजाक नै हो अराजकता नै हो र होइन भने जसले पहल गरेको कारबाहीको भागीदार हुनुपर्छ ।’

शेर्पाले जानअन्जानमा अवैधानिक रुपमा पुनर्गठन गरिएको समितिमा मुछिएका वाभ्रममा परेकालाई सच्चिन पनि आग्रह गरेका छन् । महासचिव शेर्पाले लेखेका छन्– खेलकुद सर्वमान्य नियम र विधिबाट चल्छ, एकल ढंगबाट आफूले मात्र वुझ्ने नियम वनाएर विजेता वन्न खोज्नुलाई खेलकुद भनिंदैन ।

नेपाल खेलकुद महा संघ काठमाडौं जिल्ला कमिटीका पदधिकारी हरुलाई कुनै जानकारी बिना नै कमिटी पुनर्गठन गर्नु वैधानिक नरहेको काठमाडौं जिल्ला कमिटीका पदाधिकारीहरुले बताएका छन । हाल नेपाल खेलकूद महासंघ काठमाडौं जिल्ला कमिटीमा सचिवालय सदस्यमा जय गुरुङ ,सह सचिव देवराज लामा , उपाध्यक्ष सुमन तामाङ र अध्यक्ष बिजय तामाङ रहेका छन ।