रौतहट, २० पुस, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा बाल विवाह विरुद्धको बृहद संकल्पसभा कार्यक्रम रौतहटको गौर नगरपालिकामा शुक्रबार सम्पन्न भएको छ ।

गौर नगरपालिकाको सक्रियता र समुदाय-प्रहरी साझेदारी अन्तर्गत भएको उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले संकल्प प्रस्ताव वाचन गर्नुभएको थियो । त्यसपछि उपस्थित सम्पूर्ण महानुभावहरुले बाल विवाह विरुद्धको अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेपछि उक्त संकल्प प्रस्ताव पास भएको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले २० वर्ष अगाडि विवाह गर्नु अपराध र मानवअधिकार हननको साथै शारीरिक, मानसिक, आर्थिक, सामाजिक, साँस्कृतिक र स्वास्थ्यको दृष्टिकोणले नराम्रो भएको उल्लेख गर्दै यस विरुद्धको अभियानलाई सामाजिक आन्दोलनकै रुपमा लिएर जानुपर्ने बताउनुभयो । भविष्यका कर्णधार बालबालिकाको राष्ट्र र समुदाय निर्माणमा ठूलो भूमिका हुने भएकोले भविष्य बिगार्ने बाल विवाह नगर्न अनुरोध गर्दै जो कोही पनि संलग्न भएमा प्रहरीले सक्रियता पूर्वक कानुनी कारवाही गर्ने उहाँले बताउनुभयो ।

गौरबाट सुरु भएको बाल विवाह विरुद्धको अभियान देशभरी पुर्‍याइने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसका लागि स्थानीय सरकार, विभिन्न संघसंस्था लगायत नागरिक समाजको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमलाई नेपाल प्रहरीको भरपुर सहयोग रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । अभिभावकलाई छोरी पढाउँ राम्रो वातावरण दिउँ भन्ने आग्रह गर्दै उहाँले भन्नुभयो “शिक्षा नै सबै भन्दा ठूलो सम्पत्ति हो, यसलाई कसैले चोरेर लुटेर लैजान सक्दैन ।”

उक्त कार्यक्रममा बाल विवाह हुनु पर्नाको कारण, समस्या र जागरणको आवश्यकता लगायतका विषयमा वृहद छलफल समेत भएको थियो । तराईमा हुने अत्यधिक बाल विवाह विरुद्ध जनचेतना जगाउन उक्त कार्यक्रम संचालन गरिएको हो ।

युनिसेफका ब्रान्ड एम्बेसेडर तथा रेखा थापा फाउण्डेसनका अध्यक्ष रेखा थापा कार्यक्रमको विशिष्ट अतिथि रहनुभएको थियो । गौर नगरपालिकाका नगर प्रमुख अजयकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरिबहादुर पाल, रौतहटका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका सभापति, रौतहट जिल्लास्थित विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, जिल्लास्थित सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत स्थानीयबासी एवम् आमन्त्रित अन्य महानुभावहरुको उपस्थिति रहेको थियो ।