सभामुख कृष्णबहादुर महराले संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। बुधबार प्रतिनिधि सभा बैठक सुरु भएसँगै नेपाली कांग्रेसका सांसदहरुले सदन अवरुद्ध गर्ने कोशिस गरेका थिए।

सभामुख महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणलाई समय दिएपछि उनले संसदमा उठेका प्रश्नको जवाफ नदिएको खण्डमा संसद अवरुद्ध गर्ने चेतावनी दिएका हुन्। उनले भने,‘सांसदले प्रश्न सोध्दा प्रधानमन्त्रीले किन जवाफ दिन चाहँदैन?, प्रधानमन्त्री र मन्त्रीले प्रतिनिधि सभा नियमावलीको पालना गर्नु पर्छ।'

तिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको वक्तव्य दिएपछि कांग्रेस सांसदले सोही दिन बैठक अवरोध गरेका थिए।प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्ने माग गर्दै उभिएका कांग्रेस सांसदलाई सभामुख कृष्णबहादुर महराले प्रश्न उत्तरको समय होइन भन्दै समय नदिएपछि बैठक अवरुद्ध भएको हो। 

कांग्रेसले चर्को विरोध गरेपछि सभामुखले सीमित व्यक्तिलाई बोल्ने समय दिन्छु भन्दै कांग्रेस सांसद मिनेन्द्र रिजाललाई बोलाए। तर, कांग्रेस सांसदले सीमित सदस्यलाई मात्र समय दिएर नहुने भन्दै बैठकमा अवरोध गरेका थिए। 

सभामुखले समय नदिएपछि कांग्रेसका सबै सांसदले  रोष्टम घेराउ गरेर नाराबाजीसमेत गरेका थिए। नाराबाजीबीच पनि संसद्‍को अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले निवृत्तिभरण पोस्ट विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गरे। प्रतिवेदन पेश गर्दा पनि कांग्रेसको अवरोध जारी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।