अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलाघाटमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

डिभिजन वन कार्यालय म्याग्दी अन्तर्गतको सवडिभिजन वन कार्यालय मंगलाघाटमा कार्यरत सहायक ठाकुरले काठ कटानी सम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको भेटिएपछि अख्तियारको टोलीले पक्राउ गरेको थियो। 

सेवाग्राहीसँग ३३ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान गर्दा दोषी देखिएपछि मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। 

ठाकुरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले  उनीविरुद्ध जरिवाना र कैद मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको हो। 

(अख्तियार दुरुपयोग अनुसन्धान आयोग)