म कतै हराएछु भने

म कतै भेटाएछु भने

म कतै लर्बराएछु भने

म कतै सम्मालिएछु भने

मेरो मौनतामा

मेरो आनन्द मुस्कान 

मेरो बेहोसीमा

मेरो होसमा

म आफैंले आफैंलाई देख्नसकूँ

म आफैंले आफूलाई छुनसकूँ

आफू भित्र आफूलाई खोज्नसकूँ

मेरो हरेक वर्षको रेसोलुसन

म आफूले आफूलाई चिन्नसकूँ।

 

म कतै पोखिएछु भने

म कतै भरिएछु भने

म कतै फुटेछु भने

म कतै जोडिएछु भने

म कतै विलिन भएछु भने

म कतै चम्किएछु भने

मेरो हारमा

मेरो जीतमा

म आफैंले आफूलाई महसुस गर्नसकूँ

म आफूभित्रको ममा रम्नसकूँ

आफू भित्र आफूलाई खोज्नसकूँ

मेरो हरेक वर्षको रेसोलुसन

म आफूले आफूलाई चिन्नसकूँ।

 

म कतै बगिरहेछु भने

म कतै रोकिरहेछु भने

म कतै चाउरिएछु भने

म कतै फक्रिएछु भने

म कतै सुगन्धहीन भएछु भने

म कतै मगमगाएछु भने

म कतै रंगहीन भएछु भने

म कतै श्रृङ्गारिएछु भने

मेरो लक्ष्यमा

मेरो प्राप्तिमा

म आफूभित्र एउटा निष्कर्ष निकाल्न सकूँ

म आफूभित्र एउटा हस्ताक्षर गर्नसकूँ

म आफूभित्र निरुपम समन्वयत्मक खोज्न सकूँ

मेरो हरेक वर्षको रेसोलुसन

म आफूले आफूलाई चिन्नसकूँ।

 

म कतै निस्सासिएछु भने

म कतै मुक्त भएछु भने

म कतै आत्तिएछु भने

म कतै उत्साहित भएछु भने

म कतै गद्य भएछु भने

म कतै पद्य भएछु भने

मेरो सुरमा

मेरो बेसुरमा

यी,समुन्द्रको छालको पागलपनमा आफूलाई हेर्न सकूँ

जुनको शितलतामा आफूलाई छुनसकूँ

सगरमाथाको टुप्पामा आफूलाई पाउन सकूँ

मेरो नयाँ पथमा

मेरो आत्माबलमा

एउटा सिङ्गो उपन्यास लेख्नसकूँ

उपन्यासका हरेक अक्षरलाई चुम्नसकूँ

म आफूभित्रको रंगलाई रंगाउनसकूँ

मेरो हरेक वर्षको रेसोलुसन

म आफूले आफूलाई चिन्नसकूँ।

 

म कतै न्यास्रिएछु भने

म कतै मिलनमा पुगेछु भने

मेरो प्रेममा

मेरो विछोडमा

एउटा मिठो याद छोड्नसकूँ

म यो वर्ष पनि बाँचेछु भने

३६५ दिनको, मेरो यो यात्रामा

मान्छे भएर मानवता अँगाल्नसकूँ

हरेक उपस्थितीहरुमा अत्मियता भेट्नसकूँ

आफू भित्र आफूलाई खोज्नसकूँ

मेरो हरेक वर्षको रेसोलुसन

म आफूले आफूलाई चिन्नसकूँ।

(सतोपाटीद्वारा प्रकाशित)