कर्णाली प्रदेशमा काम गरिरहेका पत्रकाहरूको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले ‘पत्रकार स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार पत्रकारहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनका लागि सूचनामार्फत् आवेदन मागेको छ।

पत्रकाहरूले  सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र ‘पत्रकार स्वास्थ्य बीमा’ कार्यक्रममा सहभागी हुनका लागि आवेदन पेश गर्नुपर्ने छ।

कर्णाली प्रदेशमा क्रियाशील पत्रकारहरूलाई व्यवसायिक तथा उत्प्रेरित बनाउन, पत्रकारितामा दिगोपना कायम राख्न र कार्यस्थलमा हुन सक्ने दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न चालू आर्थिक वर्षको मन्त्रालयको नीति तथा कार्यक्रममा ‘पत्रकार स्वास्थ्य बीमा’ कार्यक्रम समावेश गरिएको मन्त्रालयका सूचना अधिकारी हितप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रमका लागि यस आर्थिक वर्ष ५ लाख रुपैयाँ मन्त्रालयले विनियोजन गरेको उनले जानकारी दिए। उक्त रकमबाट आवेदक पत्रकारको बीमाङ्क रकम व्यहोरिने छ। पौडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सहभागी पत्रकाहरूले कामको शिलशिलामा घाइते भएमा उपचार खर्च र मृत्यु भएमा बीमाङ्क बराबरको रकम क्षतिपूर्ति पाउने छन्।

कार्यक्रमअन्तरगत बीमाङ्क रकम ५ लाख रुपैयाँसम्म रहेको छ। पहिलो चरणमा पत्रकाहरूको आवेदन संकलन गरिने र दोस्रो चरणमा बीमा कम्पनी छनोट गरेर कार्यक्रम कार्यान्वयनमा ल्याइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

‘पत्रकार स्वास्थ्य बीमा’ कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयमा बीमा समन्वय समिति गठन गरिएको छ । मन्त्रालयका सचिवको अध्यक्षतामा गठित ५ सदस्यीय समन्वय समितिमा प्रदेश पत्रकार महासंघको अध्यक्ष वा एकजना प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।

यस्तै, बीमा समन्वय समितिलाई काम गर्न सहजताका लागि बीमा कार्यक्रम निर्देशक समिति समेत गठन गरिएको छ। जसको अध्यक्ष मन्त्री रहने व्यवस्था छ। निर्देशक समितिले समन्वय समितिलाई काममा आउने द्विविधा, बाधा, अड्काउलाई फुकाउन निर्देशन दिन सक्ने छ। सोही निर्देशक समितिको आइतबार बसेको बैठकले स्वास्थ्य बीमामा पत्रकारहरूलाई सहभागी हुनका लागि निवेदन दिन सोमबार सूचना प्रकाशन गर्ने निर्णय गरेको थियो ।

कार्यक्रमलाई व्यवस्थित गराउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘पत्रकार स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन कार्यविधि–२०७५’ स्वीकृत गरिसकेको छ ।

पत्रकारलाई थप टेवा : मन्त्री भण्डारी

प्रदेश सरकारले सञ्चालन गरेको ‘पत्रकार स्वास्थ्य बीमा’ कार्यक्रमले पत्रकारलाई थप टेवा पुग्ने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताएका छन्। पत्रकारको पेशालाई मर्यादित बनाउनुका साथै पेशागत सुरक्षामा थप टेवा पुर्‍याउन मन्त्रालयले कार्यक्रम ल्याएको उनले बताए।

‘हामीले ल्याएको पत्रकार स्वास्थ्य बीमा कार्यक्रमले पत्रकाहरूलाई अझ हौसला बढ्ने छ, पेशागत सुरक्षामा पनि टेवा पुग्नेछ’ मन्त्री भण्डारीले भने, ‘पत्रकारले अब पेशा छोड्नुपर्ने बाध्यता आउने छैन।’

आवश्यक योग्यता

मन्त्रालयले ल्याएको ‘पत्रकार स्वास्थ्य बीमा’ कार्यक्रम सहभागी हुनका लागि अनिवार्य पत्रकार महासंघको सदस्यता प्राप्त गरेको हुनुपर्ने छ । यस्तै, सूचना विभागले जारी गरेको प्रेस पास आवश्यक पर्ने छ भने कर्णाली प्रदेशभित्र नै कार्यरत हुनुपर्ने छ ।

पत्रकार कर्णाली प्रदेशमा कार्यरत रहेको र महासंघको सदस्य रहेको सिफारिस प्रदेश पत्रकार महासंघले गर्नुपर्ने छ । आवेदन दिँदा चिकित्सकको सुझाव आवश्यक परेको खण्डमा निवेदक स्वयमले पेश गर्नुपर्ने छ।

यसैगरी, आवेदन दिँदा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको दुईप्रति रंगिन फोटो, आधिकारिक निकायबाट पत्रकारका रूपमा काम गरिरहेको प्रमाणपत्र, कर्णाली प्रदेशमा स्थायी बसोबास गरेको कुनै आधिकारिक प्रमाणपत्र पेश गर्नुपर्ने छ।

(सेतोपाटी)