चितवन, १७ मंसिर, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “चितवनको पर्यटन प्रवर्द्धनमा प्रहरीको भूमिका” विषयक सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम चितवनको सौराहमा सोमबार सम्पन्न भएको छ । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पर्यटकीय क्षेत्रमा पर्यटक आउँदा स्थानीय व्यवसायी र सुरक्षाकर्मीले देखाउने व्यवहारले यस क्षेत्र र समुच्च मुलुकको परिचय दिने भएकोले सवैले आ-आफ्नो क्षेत्रबाट मुलुकको लागि राम्रो गर्ने प्रण गर्नु आवश्यक रहेको बताउनुभयो । सरकारको तलव र सुविधासहित खटिएको प्रहरी सदैव नागरिक सेवाभावले अगाडि बढ्नुपर्नेमा उहाँले जोड    दिनुभयो । 

अन्तरक्रियामा उपस्थित व्यावसायिक समुदाय तथा जनसहभागिताले ठूलो महत्व राखेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले छलफलबाट आउने सकारात्मक निर्णयहरूप्रति नेपाल प्रहरी सदैव सहयोगी रहनेछ भन्नुभयो । गतिशील शहरमा असभ्य क्रियाकलाप हुन नहुनेतर्फ उहाँले जोड दिनुभयो । 

पर्यटकहरूमा आफू गएको स्थानमा शान्तिपूर्ण वातावरणको अपेक्षा रहने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले पर्यटकीय क्षेत्रलाई शान्त र प्राकृतिक रुपमा भ्रमण गर्ने वातावरण एवम् मर्यादित क्षेत्र बनाउनु सवैको कर्तव्य भएको उल्लेख गर्नुभयो । गुण्डागर्दी लगायतका अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सचेत र सजग रहन प्रहरी महानिरीक्षक खनालले निर्देशन समेत दिनुभयो । 

उक्त अवसरमा प्रहरी प्रधान कार्यालयले चितवन प्रहरीलाई उपलब्ध गराएको १ गाडी, ७ वटा मोटरसाइकल, १० थान ह्याण्ड सञ्चार सेट र १ थान बेस सञ्चार सेट प्रहरी महानिरीक्षक खनालले हस्तान्तरण समेत गर्नुभयो । 

उक्त अवसरमा कार्यक्रमका विशिष्ट अतिथि चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवनको सुरक्षा व्यवस्थालाई प्रहरी नेतृत्वबाट विशेष चासो व्यक्त भएबाट स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय हुन थप सहयोग र टेवा मिलेको बताउनुभयो । 

कार्यक्रममा राप्ती नगरपालिका प्रमुख प्रभा वराल र रत्ननगर नगरपालिका प्रमुख नारायण वनले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै स्थानीय सुरक्षा निकायसँग सहयोग आदान प्रदान गरी काम गर्न आफूहरू तयार रहेको बताउनुभयो । 

उक्त कार्यक्रमका विशेष संयोजक चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले प्रहरीको कामबाट स्थानीय उद्योग व्यवसायीले सुरक्षित महसुस गरेको बताउनुभयो । कार्यक्रममा समुदाय-प्रहरी साझेदारी कार्यक्रम र पर्यटन प्रवर्द्धन सम्बन्धमा सहभागी सरोकारवालाहरुबीच छलफल समेत भएको थियो । 

क्षेत्रीय होटल व्यवसायी संघ सौराह र रेष्टुरेन्ट व्यवसायी संघ सौराह चितवनद्वारा आयोजित उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, सुरक्षा निकायका अधिकृत तथा जवानहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, जनप्रतिनिधिहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

(Nepal Police )