अमेरिकी संसद्को माथिल्लो सदन सीनेटको न्यायिक समितिका सभापतिले सन् २०१७ मा राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनेबारे भएका भनिएका छलफलको जरोसम्म पुगेर अनुसन्धान गरिने बताएका छन्। 

संघीय जाँच ब्युरो (एफबिआई)का पूर्व कार्यवाहक प्रमुख एन्ड्रिउ म्याक्याबले सह-महान्यायाधिवक्ता रोड रोजन्स्टाइनले २५औं संशोधन भनिने एक संवैधानिक व्यवस्था ब्युँताउन आवश्यक सङ्ख्याबारे आफूसँग कुरा गरेको एक टेलिभिजन अन्तर्वार्तामा बताएका थिए।

रोजन्स्टाइनले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्। 

कस्तो व्यवस्था?

यदि राष्ट्रपति कामका लागि अयोग्य भएमा अमेरिकी संविधानको त्यस्तो व्यवस्था ब्युँताएर पदबाट हटाउन सकिन्छ।

यसअघि चिकित्सकीय कारणले आफूलाई बेहोस बनाइँदा राष्ट्रपति रोनल्ड रेगन र जर्ज डब्लु बुसले यस व्यवस्थालाई ब्युँताएका थिए। 

एफबीआईका पूर्वकार्यवाहक निर्देशक एन्ड्रियु म्याक्याबतस्वीर कपीराइटREUTERS

Image captionएफबीआईका पूर्वकार्यवाहक निर्देशक एन्ड्रियु म्याक्याब

त्यो बेला राष्ट्रपतीय अधिकार अस्थायी रूपमा उपराष्ट्रपतिमा सारिएको थियो।

तर उक्त संवैधानिक व्यवस्था ब्यँताउन मन्त्रिपरिषद्मा रहेका १५ मध्ये आठ सदस्य एवम् उपराष्ट्रपतिको स्विकृती र अमेरिकी संसद् कङ्ग्रेसको दुई तिहाई बहुमत चाहिन्छ। 

त्यस्तो सम्भावना खोजिएको भनिएको उक्त आरोप कुनै नयाँ भने होइन। रोजन्स्टाइनले यसलाई गत सेप्टेम्बर महिनामै 'तथ्यगत रुपमा गलत' भनेका थिए। 

उनले भनेका छन्, "मैले तपाईंलाई के कुरा स्पष्ट पार्न चाहन्छु भने जसरी मैले राष्ट्रपतिसँग काम गरेको छु, उक्त संवैधानिक व्यवस्था ब्युँताउने कुनै आधार छैन।"

बहस

रोड रोजन्स्टाइनतस्वीर कपीराइटCOPYRIGHTAFP

Image captionसह-महान्यायाधिवक्ता रोड रोजन्स्टाइन

आइतवार अमेरिकी टेलिभिजन सीबिएससँग कुरा गर्दै एफबीआईका पूर्वकार्यवाहक निर्देशक एन्ड्रियु म्याक्याबले यो कुरा उठाएपछि बहस पुन: तातेको हो।

म्याक्याबले भनेका छन्, "सह-महान्यायाधिवक्ता निश्चय पनि राष्ट्रपति, उनको क्षमता र त्यस समयमा उनको नियतबारे निकै चिन्तित थिए।"

रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने समितिका सभापति लिन्डसे ग्राह्मले त्यस आरोपलाई 'निकै आश्चर्यलाग्दो' भन्दै भएको के हो भन्ने जनताले थाहा पाउनुपर्ने बताए।

आफ्नो चुनावी प्रचारमा रूस संलग्न भएको आरोपका माझ चलिरहको अनुसन्धानबीच सन् २०१७ मा तत्कालिन प्रमुख जेम्स कोमीलाई हटाइएपछि म्याक्याम एफबीआइको नेतृत्वमा पुगेका थिए। 

तर उनी स्वयम् गतवर्ष सेवा निवृत हुनुभन्दा दुई दिनअघि हटाइएका थिए।

(BBC)