नेपाली काङ्ग्रेसभित्र चुलिँदो आरोप-प्रत्यारोप र विवाद हेर्दा तपाईँलाई लाग्दो हो, पार्टी सभापति चरम तनावमा होलान भन्ने। 

तर सभापति शेरबहादुर देउवा विराटनगरमा पत्रकारहरू सामू आज पीर-सुर्तामुक्त मनस्थितिमा प्रस्तुत भए।

सधैंजसो चर्किने र झर्किने आफ्नो स्वभाव विपरीत देउवाले अधिकांश प्रश्नको जवाफ ठट्टैलो पारमा हाँसेर मात्र दिएनन् जाँदाजाँदै पत्रकारलाई जिस्काए पनि।

'गृहकलह'

सभापति देउवा यसै महिनाको अन्तिम साता बस्ने भनिएको पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने राजनितिक प्रस्तावको मस्यौदाबारे सुझाव लिने कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका थिए। 

जुन बेला कांग्रेसभित्रको गृहकलह छताछुल्ल छ। 

त्यसबारे देउवाले भने, "चुनावमा भएको अन्तर्घातका कारण कतिपय ठाउमा जित्ने र हार्ने नेताहरूबीच बोलचाल नै बन्द भएको छ। पार्टीमा आन्तरिक प्रजातन्त्र छ तर आन्तरिक प्रतिस्पर्धाले बोलचाल नै बन्द भइसक्यो। एउटाले जिते अर्कोले हार्छ नी । जित्ने र हार्नेबीच बोलचाल नै छैन।"

उनले गृहकलहलाई स्वभाविक रूपमा प्रस्तुत गर्दै आफैँले त्यो कति गहिरो छ भन्ने पनि खुलाए। 

त्यो फुकाउने आफूले हैरानी बेहोरेको कुरा पनि उनले सहज रुपमा सुनाए, "कहाँ कहाँ जानु। मिल्दै मिल्दैनन्, कसरी सक्ने? सुन्दा सुन्दा हालत खराब भइसक्यो। कस्को घरमा झगडा छैन।"

काङ्ग्रेसभित्रैबाट गत चुनावमा अन्तर्घात भएको भन्दै देशभरबाट आएका कारबाहीको सिफारिस केन्द्रमा छन्। 

'जिम्मेवार प्रतिपक्ष'

तर आफूले सहमतिमा त्यसको टुङ्गो लगाउन खोजेको देउवाको भनाइ छ। 

संसदीय चुनावताका काङ्ग्रेससंग पार्टी एकता गरेका विजयकुमार गच्छदारलाई उपसभापति दिने देउवाको निर्णय विधान विपरीत भएको आरोप पार्टीभित्रैबाट लागेको छ। 

आफ्नो कदमको बचाउ गर्दै उनले भने, "आफनो पार्टीभित्रको कुरा होइन यो दुइटा पार्टी मिलेको कुरा हो। विधानमा कहाँ छ यो। यो राजनितिक निणर्य हो।" 

देउवाको आलोचनामा देखिने गरेका कोइराला परिवारका ती सदस्य डा शशांक, डा. शेखर र सुजाताले संयुक्त फोटो खिचाएको विषय हालै निकै चर्चामा थियो। 

परिवार, वडा, गाउँ र जिल्ला हुँदै देश मिल्नु झन् राम्रो भएको टिप्पणी गर्दै देउवाले भने, "कोइरालाहरूको झगडा मिल्यो अब पार्टी भित्रको झगडा पनि सकिन्छ कि।" 

पत्रकारहरूसँग जिस्किँदै अझै निहुँ खोज्ने कुरा भए भन्नुस् भन्दै बाहिरिएका देउवाले प्रतिपक्षीको भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्न नसकेको भन्ने आरोपको खण्डन गरे।

तत्कालीन नेकपा एमालेले जस्तो 'डेढ महिना संसद् अवरूद्ध नगरेको र त्यसको भरमा कांग्रेसको अवमूल्यन नगर्न' आग्रह गर्दै देउवाले भने, "काङ्ग्रेस जिम्मेवार प्रतिपक्ष हो, हामी अराजक हुन सक्दैनौं।"

(BBC Nepali)