विशेषत: भक्तपुरका  धापासी, टोखा र थिमिमा बार्षिक रूपमा मनाइने चर्चित सांस्कृतिक पर्व  बिस्काः जात्रा  शुरु भएको छ। 

इतिहास :

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढी समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। वि.सं. १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भने यो एक जिल्लाको स्थानीय जात्राका रूपमा सीमित रहन पुगेको उनले बताए। पछिल्ला केही वर्ष यता भने यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेलगायतका जिल्लाबाट सयौं मानिस आउने गरेका छन् ।

जात्रा कसरी मनाइन्छ ?

नौ दिन र आठ रातसम्म मनाइने यस प्रसिद्ध बिस्काः जात्रा भक्तपुर नगरपालिका ५ टौमढीस्थित पाँचतले मन्दिरअगाडि बनाइएको भैरवनाथको रथ बुधबार दिउँसो तान्ने क्रमसँगै बिस्केट जात्रा शुरु  हुनेछ । प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिनअघिदेखि पाँचतले मन्दिरअगाडि राखेर प्यागोडा शैलीमा काठैकाठबाट तीनतले रथ बनाइन्छ। उक्त रथ तान्न शुरु गरेसँगै जात्रा प्रारम्भ हुने प्रचलन छ।

रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा डोरी समातेर दुवैतर्फ जात्रालुले रथलाई तान्थे परम्परा छ । रथ जुन दिशातिर लैजाने हो, त्यतातिर ६ वटा डोरी राखिएको हुन्छ।

तस्विर: नेपालपाटी

जात्राको पहिलो दिन:

जात्राको पहिलो दिनलाई द्यो क्वह बिज्याइज्यू अर्थात् देवता (रथ) तल सवारी हुने भनिन्छ। जात्राको पहिलो दिन रथलाई नगरको तल्लो टोलतिर लाने परम्परा छ। पाँचतले मन्दिर क्षेत्रलाई भक्तपुर नगरको बीचभाग मानिन्छ।

जात्राको चौथो दिन:

जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा ल्योसिं  (लिंगो) ठड्याइन्छ ।  पचपन्न हात लामो उक्त ल्योसिं तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी ढालिन्छ । ल्योसिं ठड्याउनुअघि ल्योसिंको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त ल्योसिं ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर ल्योसिं ढालिन्छ । ल्योसिंको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ ।

तस्विर: नेपालपाटी

ल्योसिं के हो ?

भैलः (भैरवनाथ)को प्रतीक मानिने ल्योसिं तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी चौथो साँझ ढालिन्छ । यसलाई ललितपुरमा “य:सिं” भनेर चिन्ने गरिन्छ ।

जात्राको आकर्षण:

जात्राको मुख्य आकर्षण ५५ हात लामो  ल्योसिं (लिंगो) उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ। साथै मध्यपुर थिमिमा मनाइने जिब्रो छेड्ने जात्रापनि उत्तिकै प्रख्यात छ ।

जात्राको अन्तिम दिन:

यो जात्रा प्रत्येक वर्ष वैशाख ५ गते सम्पन्न हुन्छ। जात्राको अन्तिम दिन  पनि रथलाई दुवैतिर डोरी राखेर तानिन्छ । यस दिनलाई द्यो थाहा बिज्याइगू अर्थात् देवता (रथ) माथि सवारी हुने भनिन्छ। यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पुर्याएर सम्पन्न हुनेछ ।

जात्राको नकारात्मक पक्ष:

जात्रामा  मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच ढुङ्गा हान्ने र झगडा पर्ने जस्ता कार्य हुने गरेको छ । साथै मदिरा बिक्री वितरणले पनि  जात्राको शोभा घटाउने गरेको छ ।

जात्राको सकारात्मक पक्ष:

सांस्कृतिक महत्व बोकेको यस  जात्रा हेर्नाले एवं सहभागी हुनाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेको छ । यसकारण पनि यस  जात्रालाई ‘शत्रुहन्ता जात्रा’ पनि भन्ने गरिन्छ।

सुरक्षा व्यवस्था :

स्थानीय प्रशासन, प्रहरी र नगरपालिकाले यसवर्ष जात्रालाई शान्तिपूर्ण बनाउन ४३ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गर्ने व्यवस्था मिलाएका छन् ।

जात्रामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका पोशाक र सादा पोशाकमा सुरक्षाकर्मी खटिएका प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले बताए ।

मदिरा बिक्री वितरणमा रोक लगाएको र झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने समेत प्रशासनले जानकारी दिएको छ ।

साथै गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए।

तस्विर: नेपालपाटी

(नेपालपाटी)