अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं, १९ पुस

काठमाडौं र धादिङबाट अवैध लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थितबाट बाँके नेपालगन्ज उपमहानगरपालिका-९ घर भएका २४ वर्षीय उदिप कंडेललाइ नियन्त्रित लागूऔषध नाईट्रभेट २३ एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बा.५ ख ४५ नम्बरको यात्रु बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-७ चावहिलस्थित सडक किनारबाट मकवानपुर मार्खु गाउँपालिका-५ का ३५ वर्षीय रामराज गिरीलाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० एम्पुल, बुप्रेनोर्फिन नूफिन ५० एम्पुल र फेनारगन ५० एम्पुल सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्युरो कोटश्चरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
धादिङ गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित भारत उत्तरप्रदेश घर भएका ३० वर्षीय सतेन्द्र सिंह बगेल र पर्सा पटेरुवा सुगौली गाउँपालिका-१ बस्ने ५० वर्षीय लालमहमद गदीलाई लागूऔषध चरेश २ सय ३५ केजी सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले एचआर ३८ एस ९३७१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्दा ट्रक भित्र उक्त लागूऔषध फेला पारी ट्रक चालक सतेन्द्र र ट्रकमा सवार गदीलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।