चिना हराए पनि दर्शक श्रोताको मनमनमा बास पाएका हरिवंश आचार्य मंगलबार उमेरले ६१ टेकेका छन्। हरिवंशले आफ्नो बायोपिक ‘चिना हराएको मान्छे’मा आफ्नै जीवनबारे लेखेका छन्, ‘मैले जीवनमा कुकुरले नपाएको दुःख पनि पाएँ र कुकुरले नपाएको सुख पनि।’ कुनै समय आफ्नो जन्मलाई धिक्कार्ने उनी आज जीवनसँग त्यति बेखुसी छैनन्।

जीवनलाई चिना हराएको मान्छेजस्तै ठान्ने हरिवंशको भाग्यरेखामा आज सबैको माया नै माया लेखिएको छ। ‘म आफूखुसीले जन्मेको मान्छे होइन। बुवाआमाको रुचिले जन्मिएको’, हरिवंशले आफ्नो विगत यसरी नै दर्शाएका छन्। बाल्यकालको उट्पट्याङ केटो अनि कुनै समय भड्किएको आत्माजस्तो एक जवान युवा। अरूलाई मात्र होइन आफैंलाई बोझ बनेका एक बेकार पात्र आज सबैको प्रिय बन्दा उनी बेलाबेलामा नोस्टाल्जिक बन्छन्।

उनी आफ्नो दुःखसुखमा परिणत भएको कथा यसरी सुनाउँछन्, ‘बुवा पण्डित भएकाले मेरो चिना लेख्नुभएको थियो तर सानैमा कसैले चोरिदियो। संसारमा सबैभन्दा भाग्यमानी पनि ठान्छु आफूलाई अनि अभागी पनि हुँ संसारको। सानैमा आमा गुमाएँ। दुःखी भएँ। त्यस्तै माया गर्ने दिदीहरू पाएँ, खुसी भएँ। सानैमा फेरि बुवा गुमाएँ अनि फेरि दुःखी भएँ। तर बुवाजस्तै माया गर्ने छोराहरू पाएको छु, खुसी छु। मदनकृष्ण श्रेष्ठजस्तो सर्व श्रेष्ठ व्यक्ति साथी पाएँ, झनै खुसी छु।’

कुशल कलाकार, लेखक, गायक धेरै विधामा हरिवंश पोख्त छन्। ‘जिन्दगी सफल हुन श्रीमती र असल साथीको ठूलो हात हुन्छ। जोसँग हामी मनका दुःखसुख खुलेर पोख्न सक्छौं। हरिवंश मेरो साथी, दाइ, भाइ, अभिभावक के भनूँ ? उनको साथ पाएर म बलियो भएको छु। उनैको साथ पाएर म सक्रिय, निरोगी र सफल भएको छु। त्यसैले हरि सधैं स्वस्थ, सफल र सक्रिय रहोस् जन्मदिनको धेरै शुभकामना’, मह जोडीका ‘म’ अर्थात् मदनकृष्णले जोडीका ‘ह’ अर्थात् हरिवंशलाई यी शब्द खर्चेर जन्मदिनको शुभकामना दिए।

फिल्म ‘दाल भात तरकारी’को टिमसँग मंगलबार हरिवंशले आफ्नो जन्मदिन मनाएका हुन्। ‘धेरै साथी बनाउनुभन्दा एउटै साथीसँग निरन्तर रहनु ठूलो कुरा हो’, मदनकृष्णले हरिवंशजस्तो साथीको साथ पाएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा बिहानै घरमा रहेकी श्रीमती, सन्तान र मदनकृष्णको तस्बिर ढोगेर आएको हरिवंशले सुनाए। उनले जन्मदिनको शुभकामना दिने सबैलाई सम्झँदै भने, ‘सबैले दिएको सम्मानबाट नै हामी आज यहाँसम्म आइपुगेका हौं।’

उनलाई शुभकामना दिन किरण केसी (राता मकै), जितु नेपाल (मुन्द्रे), दीपकराज गिरी, सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), सन्दीप क्षेत्री लगायतका कलाकार उपस्थित थिए। जन्मदिन विशेष बनाउन धुर्मुस र सुबोध गौतमले मह जोडीको क्यारिकेचर गरेर सबैलाई हँसाएका थिए।

मुन्द्रेले मह जोडी आफूहरूका लागि विश्वविद्यालय भएको बताउँदै हास्यव्यंग्य क्षेत्रमा सधैं सक्रिय भएको हेर्न चाहेको उल्लेख गरे। आफ्नो कलम र कलाकारिताका माध्यमले आफूलाई शिखर चढाएका हरिवंश दाइलाई जन्मदिनको कोटीकोटी शुभकामना !

(अन्नपुर्ण पोस्ट)