नेपालले गरेको पहिलो लगानी सम्मेलनमा तीन खर्ब रुपैयाँ लगानी गर्ने इच्छा देखाएका ४ वटा कम्पनीले प्रारम्भिक चरणको काम गरिरहेका छन्। जसमा ३ वटा चिनियाँ कम्पनीले लगानी ल्याउने गरि प्रारम्भिक चरणका काम गरिरहेको र डोल्मा फण्डले २२ अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गराइसकेको लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो। चार वटै कम्पनी उर्जा क्षेत्रमा काम गर्ने कम्पनी रहेका छन्। चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जी साइन्स एण्ड टेक्नोलोजी कम्पनीले २३५ मेगावाटको हुम्ला कर्णाली १ र ३३५ मेगावाटको हुम्ला कर्णाली २ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति लिएको छ।  कुल ५७० मेगावाटका दुई आयोजनाको लागि एक खर्ब १० अर्ब रुपैयाँ लगानी अनुमान गरिएको बिजमाण्डु अनलाइनले जनाएको छ।

त्यस्तै अर्को कम्पनी गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट कम्पनी नेपाल प्रालीले १२८ मेगावाटको खलङ्गा भेरी, २५६ मेगावाटको भेरी २ र ४०० मेगावाटको भेरी १ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति लिएको छ। कुल ७८४ मेगावाटका तीन आयोजनाको लागत एक खर्ब ५० अर्ब रुपैयाँ अनुमान गरिएको छ।त्यस्तै अर्को चिनियाँ कम्पनी चाइना हारबोर इन्जिनियरिङ कर्पोरेसनले ७८ मेगावाटको साञ्जेनखोला जलविद्युत आयोजनामा जोइन्ट भेन्चर गरि १५ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ। लगानी सम्मेलनमा सिचुवान वाङपिङले एक खर्ब रुपैयाँ र चाइना हरबोरले १५ अर्ब रुपैयाँ लगानी गर्ने इच्छा जाहेर गरेका थिए। गेजुवा ग्रुप र डोल्मा फण्डले भने कुनै लगानीको ईच्छा देखाएका थिएनन्।

विद्युत विकास विभागले ०७४ असोज २६ गते ६५० मेगावाट क्षमताको तामाकोशी ३ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति निजी क्षेत्रको कम्पनी टिबीआइ होल्डिङलाई दिएपछि लगानी सम्मेलनमा तामाकोशीमा लगानी गर्ने ईच्छा देखाएका ७ मध्ये ५ वटा कम्पनी नफर्केको लगानी बोर्डको दावी छ।