प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिए

[[IMG_ALT]]

www.bsgnews.com | National News | Falgun 3

वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व दावी गरे लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन्।

देशवासीका नाममा सम्बोधन गर्दै उनले तीन तहको चुनाव सम्पन्न गराएको र संविधान कार्यान्वयनका लागि आफ्नो नेतृत्वको सरकारले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

आफूले आफ्ना जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसकेको उल्लेख गर्दै देउवाले भने, "आजकै मितिबाट लागू हुनेगरी मैले राजीनामा दिएको छु।"

असन्तुष्ट तराई केन्द्रित दलहरूलाई चुनावमा सहभागी गराएकोबारे उनले आफ्नो सम्बोधनमा भने, "बल प्रयोग गरेर निर्वाचन गराएको भए मुलुक फेरि हिंसाको दुष्चक्रमा फस्ने थियो।"

प्रतिनिधिसभाको नतिजा राष्ट्रपतिसमक्ष पेश

उपलब्धि
देउवाले चुनावमा केन्द्रित हुनुपरेकाले आफ्नो सरकारले विकास निर्माणका क्षेत्रमा धेरै उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरे।

प्रधानमन्त्री निवास बालुवाटारबाट देउवाले गरेको सम्बोधन सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

सम्बोधनका बेला सरकारका वरिष्ठ मन्त्रीहरू पनि सहभागी थिए।

देउवाले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्धलाई थप विश्वसनीय र समानताका आधारमा विकास गरिएको समेत उल्लेख गरे।

आफ्नो सरकारको पालामा शुरू गरिएका केही महत्त्वपूर्ण कामलाई भावी सरकारले निरन्तरता दिने उनले विश्वास व्यक्त गरे।