दक्षिण कोरियाकी प्रथम महिला किम जङ-सूकले उत्तर भारतस्थित प्राचीन नगर अयोध्याको भ्रमण गरेकी छन्। केही दक्षिण कोरियालीहरू भगवान् रामको जन्मस्थलका रूपमा परिचित अयोध्यासँग आफ्नो विशेष सम्बन्ध भएको मान्छन्। उनीहरू अयोध्या आफ्ना पुर्खाको मावली भएको विश्वास गर्छन्।

सुरिरत्ना नाम गरेकी एउटी भारतीय राजकुमारीको कोरियाका एक राजासँग विवाह भएको किम्वदन्तीहरू कोरियामा सुन्न पाइन्छ।

किम्वदन्तीले के भन्छ?

राजकुमारी सुरिरत्नाको अर्को नाम हु ह्वाङ-ओक थियो।किम्वदन्ती अनुसार उनी दुई हजार वर्षअघि अर्थात् इस्वी सम्वत् ४८ मा कोरिया गएकी थिइन् र त्यहाँ उनको एकजना राजासँग विवाह भएको थियो। उनीहरूबाटै कारक राजवंश सुरु भएको मानिन्छ।चिनियाँ भाषाका केही ग्रन्थका अनुसार अयोध्याका तत्कालीन राजाले सपनामा भगवान्‌बाट आफ्नी १६ वर्षीया छोरीलाई कोरिया पठाएर राजा किम सुरोसँग विवाह गराइदिन आदेश पाएका थिए।

दक्षिण कोरियाका लोककथाको लोकप्रिय पुस्तक 'साम्गुङ युसा' (तीन राज्यका चिनोहरू) मा रानी ह्वाङ-ओक 'अयुता'की राजकुमारी भएको उल्लेख छ। ती राजा र रानीको ऐश्वर्य फैलियो र उनीहरूका १० छोरा जन्मिए। उनीहरू दुवै जना १५० वर्षभन्दा बढी बाँचे। मानवशास्त्री किम ब्युङ‍-मोले कोरियाली कथाको 'अयुता' उत्तर भारतको अयोध्या नै भएको दाबी गर्छन्। तर ती राजकुमारी साँच्चै अस्तित्वमा थिइन् भन्ने स्पष्ट प्रमाण भने भेटिएको छैन।

बीबीसी कोरियाली सेवाका डेभिड क्यान भन्छन्, "उनको कथा मिथक हो र प्राज्ञहरू त्यसलाई इतिहास मान्दैनन्।" क्यानका अनुसार भारतीय मूलकी कोरियाली रानीबारे विभिन्न कथाहरू र तिनमा कल्पनाशीलताको पर्याप्त प्रयोग भएको छ। 

कारक राजवंश

कोरियामा किम थर सामान्य मानिन्छ। राजा किम सुरो नै किम्हे क्षेत्रमा बसोबास गर्ने किमवंशका पहिलो व्यक्ति हुन् भनिन्छ।बीबीसी कोरियाली सेवाकी मिन्जी ली भन्छिन्, "कोरियामा परम्परागत रूपमा पिताको थर नै सन्तानले राख्छन्। उनको थर आफ्ना सन्तानले प्रयोग गर्न नपाउने देखेर ती रानी दु:खित भएकी थिइन् भन्ने छ।" 

"किम्वदन्तीअनुसार त्यसैले राजा सुरोले आफ्ना दुई छोरालाई रानीको नाम (हु) थरका रूपमा प्रयोग गर्ने अनुमति दिए। त्यो थर अहिले पनि चलेको छ।" ती राजदम्पतीका वंशजको सङ्ख्या अहिले ६० लाखभन्दा बढी अर्थात् दक्षिण कोरियाको जनसङ्ख्याको झन्डै १० प्रतिशत पुगेको इतिहासकारहरू बताउँछन्।

कारकवंशीहरूले आफ्नी कुलमाताले कोरिया आउने क्रममा समुद्रको यात्रा गर्दा डुङ्गा स्थिर राख्न प्रयोग गरेको भनिएका ढुङ्गाहरू संरक्षण गरेर राखेका छन्। दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम-डेई जङ र पूर्वप्रधानमन्त्री किम जोङ‍-पिल आफूहरू पनि कारकवंशी नै भएको मान्छन्।

कति प्रख्यात छ किम्वदन्ती?

बीबीसी कोरियाली सेवाका केही सहकर्मीले यस्तो किम्वदन्ती आफूले पनि सुनेको तर धेरै पहिलाको विषयवस्तु भएकाले यसको मान्यता व्यापाक भएजस्तो आफूलाई नलागेको बताउँछन्।

ली भन्छिन्, "विद्यालयमै छँदा मैले पनि यसबारे सुनेकी थिएँ। म र मेरा साथीहरू आफ्नो पुर्ख्यौली त्यति परसम्म भएको सुन्दा दङ्ग पर्थ्यौँ।" तर केही व्यक्ति भने ती राजकुमारी थाईल्यान्डबाट आएकी र उनको जन्मस्थल थाईल्यान्डको अयुत्तया भएको हुनसक्ने बताउँछन्। इन्टर्नेटमा उपलब्ध केही सामग्रीले केही किम्हेवासीले कालो छाला भएका मानिसको पुर्ख्यौली भारतमार रहेको भन्ने किम्वदन्तीलाई एउटा ठट्यौली मान्ने गरेको सङ्केत गर्छन्।

किम्वदन्तीको प्रभाव कस्तो छ?

किम्हे र अयोध्याबीच भगिनीसम्बन्ध स्थापित गर्न सन् २००० मा एउटा सहमति भएको थियो। त्यसको एक वर्षपछि सयजनाभन्दा बढी इतिहासकार एवम् भारतका लागि उत्तर कोरियाली राजदूतसमेत सरकारी प्रतिनिधिहरूले संयुक्त रूपमा अयोध्यास्थित सरयू नदीको पश्चिमी तटमा रानी ह्वाङ-ओकको स्मारक अनावरण गरे।

आफूलाई उनका वंशज मान्नेहरू ती रानीलाई उनकै मातृभूमिमा श्रद्धाञ्जलि व्यक्त गर्न भनेर प्रत्येक वर्ष अयोध्या जान्छन्। सन् २०१६ मा एउटा कोरियाली टोलीले सो स्मारकस्थलको थप विकास गर्न भनेर उत्तर प्रदेशको राज्यसरकारलाई एउटा प्रस्ताव पठायो।

प्रथम महिलाको हैसियतमा नोभेम्बर ४ देखि ७ सम्म भारत भ्रमणमा आएकी दक्षिण कोरियाली राष्ट्रपतिकी पत्नी दुई देशले संयुक्त रूपमा गर्न लागेको सो स्मारकको स्तरोन्नतिको कार्यारम्भ समारोहमा सहभागी हुने कार्यक्रम छ। जे होस् रानी ह्वाङ-ओकको कथा दक्षिण कोरिया र भारतबीच सम्बन्ध राम्रो बनाउने आधार बनेको देखिन्छ। दिल्लीमा कार्यरत प्राध्यापक किम डो-युङ भन्छन् - प्रथम महिलाको यो भ्रमण त्यसमै थप अर्को कदम हो।

(BBC News Nepali)