बूढानिलकण्ठ नगरपालिकाले गर्यो सार्वजनिक विद्यालय सुधार गर्ने त्रिपक्षिय समझदारी पत्रमा हस्ताक्षर

[[IMG_ALT]]

www.bsgnews.com | Nagar News | Ashad 24

बूनपा-४ मा रहेको मदन आश्रित आदर्श विद्यालयको शिशु देखि कक्षा ५ सम्मको दैनिक पठन-पाठन र व्यवस्थापन हेर्ने गरी कोल्यावोरेटिभ स्कुल्स नेटवर्क (CSN) सँग नगरपालिकाले समझदारी पत्रमा हस्ताक्षर गरेको छ। समझदारी पत्र अनुसार ३ वर्षको लागी विद्यालयको दैनिक पठन पाठन सुधारको नेतृत्व सिएसएनले गर्नेछ।

बूढानिलकण्ठ नगरपालिका, Collaborative Schools Network (CSN) र विद्यालय व्यवस्थापन समिति विच त्रिपक्षिय समझदारी भएको हो।

नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल, शिक्षा अधिकृत नवराज नेपालले हस्ताक्षर गर्नुभएको छ भने विद्यालयको तर्फबाट विव्यस अध्यक्ष राजाराम खड्का र त्यस्तै CSN को तर्फ बाट स्कुल लिडर नम्रता न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो।

हस्ताक्षर अघि विचार राख्दै नगरप्रमुखले नगरपालिकाले सार्वजनिक विद्यालय सुधार गर्न हरसम्भव उपायहरु अपनाउने बताउनु भयो। आफ्नो आन्तरीक व्यवस्थापकिय क्षमता पनि बढाउँदै लैजाने र CSN जस्ता सँस्था सँग पनि सहकार्य गर्दै विद्यालयको गणस्तर कायम बढाउने बताउनु भएको छ।

CSN का प्रतिनिधी राजन महर्जनले यो सम्झौता महत्वपुर्ण भएको र आफ्नो संस्था बूढानिलकण्ठको सार्वजनिक विद्यालय सुधार गर्नको लागी प्रतिबद्ध रहेको र यसका लागी नगरपालिकाको उदेश्य पुरा गर्न सहयोग बन्न तयार रहेको र, यस वर्षको कार्य मुल्याकंन हेरेर अर्को वर्ष पनि एउटा विद्यालय थप्ने योजना रहेको बताएका छन्।

त्यस्तै, प्रमुख प्रशासकिय अधिकृतले आफ्नो कार्यकालमा राम्रो कामको सुरुवात हुन लागेकोमा खुशि व्यक्त गर्दै CSN लाई उत्कृष्ट काम गर्न शुभकामना समेत दिनुभएको छ।

शिक्षा अधिकृत नवराज नेपालले, जन उद्दारमा CSN ले राम्रो काम गरेको बताउँदै मदन आश्रित विद्यालयमा पनि सोही नतिजाको अपेक्षा आफुले गरेको र नगरपालिका शिक्षा शाखाबाट सक्ने सहयोग गर्ने बताउनु भएको छ।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम खड्काले CSN ले ३ महिनामा नै राम्रो काम गरेको आफ्नो अनुभव सुनाउँदै आफुहरुले धेरै दुख गरी टिकाएको विद्यालय अब राम्रो बन्नेमा आफु ढुक्क रहेको पनि बताएका छन्।

समझदारी पत्रमा हस्ताक्षर गर्नु अघि यसको तयारीमा करिब ३ महिना भन्दा बढि समय खर्चिएको थियो। यसै शैक्षिक सत्रबाट नै नगरप्रमुख सँगको छलफल बाट स्विकृत भई काम सुरू भईसकेपनि औपचारीक समझदारी आजमात्र भएको हो। नगर प्रमुख उद्धव खरेलको निर्देशनमा समझदारीमा उल्लेख गरीने भाषा र CSN लाई प्रत्यायोजन गर्न सकिने जिम्मेवारीको सम्बन्धमा नगरपालिकाको तर्फबाट नगर शिक्षा शाखा प्रमुख नवराज नेपाल र CSN को तर्फ बाट राजन महर्जनले समन्वय गरेका थिए।

यस अघि श्री जनउद्धार विद्यालयमा २०७२ देखि विध्यालय व्यवस्थापन समिति सँग समझदारी गर्दै काम गरेको भएपनि यस पटक बाट नगरपालिका सँग नै समझदारी भएर काम हुनेछ। जन उद्दार सँग भने केहि समयमा समझदारी पत्रमा हस्ताक्षर हुनेछ । जनउद्दारले यस वर्ष एसईईमा निकै उत्कृष्ट नतिजा समेत निकाल्न सफल भएको छ।