१७ वर्षीया नेपाली किशोरी बन्दना नेपालले १ सय २६ घण्टासम्म निरन्तर नाचेर विश्वकै सबैभन्दा लामो समय नाच्नसक्ने एकल व्यक्तिको रुपमा गिनिज वल्र्ड रेकर्ड बनाएकी छन्। गत नोभेम्बर २३ शुक्रबार नाच्न सुरु गरेकी उनी २८ नोभेम्बरसम्म निरन्तर नाचिरहेकी थिइन्। 
गिनिज वल्र्ड रेकर्डका प्रतिनिधि, मिडिया, परिवारका सदस्य र आफन्तका बीच उनी काठमाडौंको एक रेष्टुरेण्टको हलमा नेपाली संगीतको तालमा नाचेकी  हुन्।
भारतकी कलामन्डलम हेमलथाले यसअघि सन् २०११ मा १ सय २३ घण्टा १५ मिनेटको निरन्तर नाचको रेकर्ड तोड्दै बन्दनाले रेकर्ड राखेकी हुन्। नाचको यस रेकर्डपछि उनका बावु राम नेपालले औधी खुसी लागेको प्रतिक्रिया दिएका छन्।
बन्दना भने निरन्तर नाचका कारण थकान र निन्द्राका कारण केही दिनसम्म मिडियासामु अन्तरवार्ता दिन नसक्ने भएकी छन्। बन्दना काठमाडौंकै एक कलेजको १२ मा बिजनेश म्यानेजमेन्ट अध्ययनरत छात्रा भएको अन्नपूर्ण पोस्ट अनलाइनले लेखेको छ।