ब्यूनस आयर्स नेपालको पदयात्रा क्षेत्रमा पर्यटकको ‘फेक रेस्क्यू’ (फर्जी उद्धार) हुने गरेको भन्दै हिमाली भेगको पदयात्रामा जान चाहने पर्यटकको जोखिम बेहोर्न अन्तर्राष्ट्रिय बिमा कम्पनी तयार नभइरहेको बेला सरकारले भने ‘ट्राभल इन्सुरेन्स’ (यात्रा बिमा) नगरी पदयात्रामा जान नपाउने गरी कडाइ गरेको छ।

पदयात्रामा जाने सबै पर्यटकका लागि सरकारले अबदेखि बिमा अनिवार्य गरेको हो। बिमा नगरी पदयात्रामा जाने पर्यटकलाई पदयात्रा अनुमतिपत्र नदिन समेत सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सरकारी निर्देशन लागू गर्दा छोटो दुरीको पदयात्रामा जाने पर्यटकले पनि अनिवार्य रुपमा बिमा गर्नुपर्ने हुन्छ। नागरिकन्यूज डटकमका अनुसार अहिलेसम्म व्यावसायीले पर्यटकलाई बिमा गरेर मात्र पदयात्रामा जान अनुरोध गर्दै आए पनि अनिवार्य थिएन।
सरकारको यो बाध्यकारी नियमले छोटो दुरीको पदयात्रामा जाने भारतीय, चिनियाँ लगायत मुलुकका पर्यटक बढी प्रभावित हुने पदयात्रा व्यावसायीले बताएका छन्। सरकारी निर्देशनपछि छोटो दुरीको पदयात्रामा जाने भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित हुने पर्यटन व्यावसायीले बताएका छन्।

नेपाल आउने भारतीय पर्यटकमध्ये अधिकांशले यात्रा बिमा गरेका हुँदैनन्। बिमा नगरी आएका ती पर्यटकलाई अहिले पदयात्रा अनुमति नै दिन छाडिएको छ।
पर्यटन विभाग अन्तर्गतको पर्यटक, खोज तथा उद्धार निर्देशक समितिको हालैको बैठकले बिमा नभएका पर्यटकलाई पदयात्रा अनुमति नदिने निर्णय गरेको हो। उहाँका अनुसार बिमा नगरी आएका पर्यटकलाई अहिले पदयात्रा अनुमति दिन छाडिएको छ। त्यसको मारमा सबैभन्दा बढी भारतीय पर्यटक परेका छन्।