तेह्र वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा अनुसन्धान तीव्र पारिएको भन्दै दोषीहरूलाई छिट्टै कारबाही गरिने वचन पीडित बालिकाका आमाबुवालाई गृहमन्त्रीले दिएका छन्। निर्मलाका परिवारसँग भएको भेट र प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा गृहमन्त्री रामबहादुर थापाले अनुसन्धानका क्रममा कुनै गल्ती भएको पाइए सम्बन्धित व्यक्तिलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। गृहमन्त्रीसँगको भेट पछि दोषीलाई कारबाही हुने केही आशा बढेको निर्मलाकी आमा दुर्गादेवीले बताएकी छन्। गत साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।तर सात हप्ता बित्दा पनि उक्त घटनाको दोषी पत्ता लाग्न सकेको छैन। पहिले जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर र त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो अनि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले गरेर तीन तहको अनुसन्धान भइसकेको छ। प्रतिबद्धता लामो समयसम्म दोषी पत्ता लाग्न नसकेको विषयलाई लिएर बिहीवार प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको उत्तर माग्दै संसद् नै अवरोध गरेपछि शुक्रवार गृहमन्त्री रामबहादुर थापा जवाफ दिन संसद्‌मा उपस्थित भएका थिए। संसद्‌मा बोल्दै उनले भने, "निर्मला हत्याको घटनाका दोषीहरूलाई कानुनी सजायबाट उन्मुक्ति नदिने कुरामा विश्वस्त गराउन चाहन्छु। छानबिन तीव्र रूपमा अगाडि बढिरहेको छ। दोषीहरूलाई छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु।" अपराधमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउने सिलसिलामा कहीँ कतैबाट लापरबाही वा गल्ती भएको पाइएमा त्यसमा संलग्न जो कोहीलाई पनि दण्डित गरिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। दुखेसो न्याय खोज्दै राजधानी आएका निर्मलाका आमाबुवासँग पनि गृहमन्त्री थापाले शुक्रवार भेट गरेका छन्। सो भेटमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थिए। भेटमा गृहमन्त्रीलाई घटनाको विवरण, प्रहरी प्रशासनबाट भएका लापरबाहीका बारेमा सुनाएको र गृहमन्त्रीको कुराले आफूलाई न्यायको आशा जगाएको दुर्गादेवी पन्तले बताइन्। उनले भनिन्, "उहाँको कुरा सुनेर अब न्याय पान्छ कि भन्ने आशा लागेको छ। राजधानीमा उहाँकै शरणमा आएपछि उहाँलाई ज्ञान जागे जस्तो पनि लागेको छ।" उनले भनिन्- 'थौरै दिन बाँकी छ, हामी नजिक पुगेका छौँ, यसलाई गम्भीर रूपमा लिएका छौँ' भन्नु भएको छ। आक्रोश उक्त भेटमा महेन्द्रनगरबाट आएका नौ महिला अधिकारकर्मीहरू पनि सहभागी थिए। विगतमा सरकारी निकायको व्यवहारबाट आक्रोशित भएर आन्दोलन नै गरेका कञ्चनपुर नागरिक सङ्घर्ष समितिकी संयोजक मीना भण्डारीले भेटपछि भनिन्, "जिल्लाबाट आउँदा जुन आक्रोश हामीमा थियो त्यो यहाँको कुराले कम भएको छ। अब जुन दिन निर्मलालाई न्याय दिनुहुन्छ र कञ्चनपुरवासीलाई निकाश दिनुहुन्छ त्यो दिन धन्यवाद दिनेछौँ।" पन्त परिवारसहित राजधानी आएको अधिकारकर्मीहरूको समूहले राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरूलाई समेत भेटेर न्यायका लागि पहल गरिदिन आग्रह गर्ने जनाएका छन्। निर्मलाको हत्यारा पत्ता नलागेसम्म महेन्द्रनगर नफर्किने उनीहरूको भनाइ छ। (बिबिसी नेपाली )