कविता : मेरो धर्म

लक्ष्मी प्रसाद देवकोटा

क.
सङ्घर्षद्धारा मिलेर मन्थन यी स्नायुजाली शिथिल हुनाले
क्या फीँज निकाले !
किरण छरी दी तब कल्पनाले !
लडका–दिलमा रहने कविले धरम निकाले, कथा सँगाले !

ख.
पुजारी डर भो, औ भक्त भो,
अज्ञातलाई अज्ञेय पारी
रचेर मन्दिर, कुँदी बसाले !
अनेक बान्की दिई छिनाले !

ग.
बालक ऋषिका कथा मीठा छन्,
म सुन्छु सुन्छु !
यो कल्पनाको परी जगत्मा,
म रसले घुम्छु म रसले घुम्छु !
सफा छ खोजी विचित्र मीठो,
म मग्न हुन्छु, सतृष्ण हुन्छु !

घ.
बगिरहेको मलाई जल देऊ !
सुकोस्, पुगोस् वा पयोधि दूर !
मलाई केवल समुद्र तृष्णा
छचल्किएको, ध्वनि प्रचुर !

ङ.
मलाई शङ्का सँगी रहन्छे !
मभित्र थोरै छ भित्रको ज्ञान
तथापि घुम्दो छ नागबेली,
तरङ्ग मेरो, समुद्रको गान !
यता छ लरबर,
उता छ आह्वान !

च.
विदित चिरेर किनार पारी, लगाउँदो छु म फूलबारी !
नभेटिएको, नछोइएको,
प्रवाहको तर छ प्राण जारी !

photo source hamrobudhanilkantha.com/photo by August Rush Singh lama

छ.
म गर्तमा गै, “समुद्र छैन”
भनें बराबर, अडी शिथिल प्राण !
बराबर निस्कें, नभेटिए त्यो,
मीठो छ भन्दै मनुष्यनिम्ति
मरुमा कुर्वान !

ज.
म आफूभन्दा अगाडि खोज्छु,
म आफूभन्दा पछाडि गाँस्छु !
म जलहरुमा झझल्किएको
सतृष्णताको गति मिठास छु !

झ.
यहाँ छवि छ, वहाँ छाया,
झिमिक झिमिकमा धधप्प, झप्प !
जो भेटिएको त्यहीं अडेर
यही हो भन्ने हठ प्रदर्शन
म लिन्न,
बग्छु, भजी अलभ्य !

ञ.
‘फटिक’ को मन्त्र लिई बगेथें,
जहाँ छ माटो !
म एक निर्मल पछाडि ‘कलकल’–
ले लिन्छ बाटो !

ट.
कहिलेकाहीं किरणको कर ली
कदम छ दुइचर !
टिपी झलक त्यो बनाऊँ ठेली !
म बग्छु लाचार !

ठ.
त धर्म के हो ? सदा पिपासा,
र त्यसको भाषा, र तृप्ति–आशा !
अनन्त पाए, घुसेर उरमा,
सँगेटी सब धार
निदाउनु एकबार !