बुढानिलकण्ठ नगरपालिका वडा नं १३ लाइ आसन्न स्थानीय चुनाव २०७९ मा एक सच्चा नेपाली काँग्रेस भएर नियाल्दै गर्दा जुन खालको जोश र जाँगर सुरुवाती दिनहरुमा देखिएको थियो, त्यो माहोल चुनाव प्रचार प्रसारमा फोटो खिचाउनको लागि र भबिष्यमा कुनै पद दाबी गर्नको लागि देखाएको मात्रै हो भन्ने छर्लङ्ग भान हुन्थ्यो। वडा नं १३ को हकमा नेपाली काँग्रेस १३ वडा महामन्त्री गगन थापाको छत्रछायामा हुर्किबढेको प्रष्टै छ। बागमति प्रदेश लेखा समिति सभापति माननीय न्हुच्छे नारायण श्रेष्ठ त्यहीकै स्थानीय नेता अनि बागमति प्रदेश सदस्य मनदेबी श्रेष्ठ, काठमाडौं क्षेत्र नं.४ क्षेत्रीय सह-सचिब महेन्द्र श्रेष्ठ, काठमाडौं क्षेत्र नं.४ प्रदेश ख का सह सचिव मदनदास श्रेष्ठ, काठमाडौं क्षेत्र नं.४ क्षेत्रीय सदस्य लक्ष्मी जोशी श्रेष्ठ, नगर सचिव बिजेन्द्र श्रेष्ठ सवैले पदको लागि राजनीति गरेको कुरा सबैले महशुश गरे।

 

भाइनारायण श्रेष्ठ इकाइ सभापति खै कसको ईशारामा काम गर्छ थाहै भएन। लाग्थ्यो कि उहाँ कसैको कलमको बिर्को मात्रै बनेको थियो, सानो सानो निर्णयको लागि मसी खोज्दै हिडेको हामीले देखिरहेका थियाै। सत्यनारायण श्रेष्ठ, प्रदेश सभा क्षेत्रीय कार्यसमिति आमन्त्रित सदस्यलाई कसैले धम्काएर चुप लाग्न लगाएको जस्तो लाग्थ्यो। अर्का प्रदेश सभा क्षेत्रीय कार्यसमिति आमन्त्रित सदस्य शारदा बिश्वकर्मा पदीय मोहमा गठबन्धनको कारण आफूले दलित महिला सदस्य नपाउदाको रीस साट्दैमा ब्यस्त देखिन्थे। क्षेत्रीय सदस्य लक्ष्मी जोशी त आफ्नै सदस्यलाई मत नदेउ भन्दै हिडेको हल्ला सुन्नमा आएको थियो। वडा सदस्य दिनेस नगरकोटी आफ्नै आचरण र घमण्डले चुर भएर टिकेट पाएको खुशी मै भुलिरहे, उनले चुनाब नि जित्नुपर्छ भन्ने सायद हेक्कै राखेन। 

 

गठबन्धन वास्तवमा एक खालको पासो बन्न पुग्यो। गठबन्धनको आडमा जितिन्छ भन्ने सोचले केही ढुक्कले हिडेको नि महशुश गरियो तर २ जना सदस्यहरु पाएको नेकपा माओबादी केन्द्रबाट तिनै २ जना सदस्य बाहेक अरु २-४ भोट नि रूख चिन्हमा झर्यो भन्ने कुरामा आशंका छ। नेकपा माओबादी केन्द्रको तर्फबाट वडा अध्यक्षको उमेद्वार हरिदास श्रेष्ठले नेपाली काँग्रेससंग यता गठबन्धन गरेर उता नेकपा एमालेको पार्टी कार्यलयमा हाजिरी दिन जाने गरेको धेरैको आँखाले चियाइरहेका थिए। गठबन्धनमा प्रमुख भुमिका निर्वाह गरेको करुणा हस्पिटलका सचालक तिर्थ श्रेष्ठको चुनावको २ दिन अगाडी फेसबुकमा आएको स्ट्याटसले चुनाबी माहोल खलबलाइदियो। लगभग जित्ने पक्कापक्की भैसकेको चुनाबलाइ अर्कै मोडमा लैजान यो स्ट्याटसले ठूलो भूमिका खेल्यो। 

 

चुनावमा जितहार आफ्नो ठाउमा छ तर सशक्त प्रतिस्पर्धा दिनु पनि धेरै ठूलो कुरा हो। वडा नं १३ मा नेपाली काँग्रेस हार्नुको पछाडी बिभिन्न राजनीतिक बिश्लेषणहरु होलान् तर मुलत: आफूलाइ नेता भन्दै हिड्नेहरु नै मै हु भनेर ठूलाठालु बनेर हिड्ने, राजनैतिक छबि नभएका तर नेताको आबरणमा सामाजिक आचरण नभएका बर्गहरु उच्च ओहदामा पुग्नु नै हो। २०४९ साल यता कुनै पनि प्रतिनिधिलाइ वडामा जिताउन सकेको छैन। ३० बर्ष सम्म सांगठनिक रुपमा केही सुधारको प्रयाश भएको देखिदैन। बर्षैसम्म छिन्नभिन्न भएको संगठनमा २०७९ सालमा हरप्रकारले संगठनलाइ मजबुत बनाएर चुनाब लड्ने भनेर भरत श्रेष्ठ चुनाबी मैदानमा उत्रिए। तर बिचार र ब्यबहारबाट कुण्ठित संगठनलाइ नया दिशामा अगाडी बढाउन त्यति सजिलो कहाँ थियो र। सबैतिर छरप्रष्ट र भ्वाङ नै भ्वाङले भरिएको थियो, त्यसलाइ भर्दै जादा जितको प्रयाश सम्म गर्न सफल भएको हो कि?

 

हामीले वडा नं १३ लाइ अझै नियाल्दा एक जना बिर्सनै नहुने नाम हो अधिबक्ता रामलाल श्रेष्ठ। २ पटक पार्टीको इकाई सभापति भएर बाटो बिराएका नेताको बर्गमा उहालाइ न त गगन थापा समूहले समाते न त राजु श्रेष्ठ समूहले। आसन्न महाधिबेशनमा उहाको राजनैतिक हैसियतलाइ नै सिलाैटामा पिसेर उनको राजनीति लगभग सकाइसकेको भान हुन्थ्यो। उहाकै राजनीतिक समर्थकहरु आज राजनीतिबाट बिरक्तिएर हिडेको हामी देख्न सक्छाै। यो चुनावमा उहाको नि खासै देखिने योगदान र भुमिका वडाबासीले महशुश गरेनन्।

 

गाम्चा काैडोलमा पैसाको धेरै नै चलखेल भएको कुरा सुन्नमा आएको छ, अनि यो कुरालाइ ब्याख्या गर्दै बसेका नेताहरुमा १ नं मा नाम आउछ काठमाडौं क्षेत्र नं.४ प्रदेश ख का सह सचिव मदनदास श्रेष्ठ। उनी आफू नेता हो भनेर बिर्सिन्छन बेलाबेलामा। एउटा नेताको काम भनेको गलतलाइ नि सहि ढंगले ब्यक्त गर्नु पनि हो जस्तो लाग्छ। ताकि उहाँको पछि लाग्नेहरुले नि केही सकारात्मक कुरा आत्मसात गर्न सकोस् तर फेसबुकमा स्ट्याटस र कमेन्ट गर्ने बाहेक उहाको नि योगदान कतै देखिएन। चलखेल हुनबाट रोक्नुपर्नेमा आफ्नो जिम्मेवारी बिर्सेर दोष जति सबै अर्काको पोल्टामा खन्याइदिदैमा आफू चोखिन्छ भन्ने भ्रममा हुनुहुन्छ।

 

पार्टीमा उच्च ओहदाको लागि रोएर हुन्छ कि ढोगेर हुन्छ, हरदम लागिपर्ने तर स्थानीय चुनाबमा दुलोभित्र लुक्ने एक नाम मनदेबी श्रेष्ठ पनि हो। ५ बर्ष अगाडीको चुनाबमा अन्तरघातीको लिस्टमा १ नं मा परेको मनदेबीले यो चुनाबमा पनि कही कतै देखिने र सम्झिने भूमिका निभाएको देखिएन।

 

पार्टीमा म र मै मात्र सक्षम भन्ने आचारणले उन्माद भरिएको नगर सचिब बिजेन्द्र श्रेष्ठ जसको शिरमा गगन थापा र श्रीपेच न्हुच्छे नारायाणको लगाएर हिड्छ, आफ्नै बिगतलाई लुकाउन नसकेर भागेर हिडेको सारा नगरले महशुश गर्यो, १३ मा त उहाँको मुख देख्नलाइ नि कि त गगन थापा आउनुपर्थ्यो कि त मेयर उपमेयर।

 

हामीले बुढानिलकण्ठ नगरपालिका वडा १३ को कुरा गर्दै गर्दा स्थानीय चुनाब २०७९ मा सोचेको भन्दा फरक निर्णय भएको मान्नै पर्छ। वडा अध्यक्षका आकांक्षीहरुमध्येबाट सर्बसम्मतरुपमा युवा नेता भरत श्रेष्ठ चुनिए। आफू वडा अध्यक्षको उमेदवार चुनिएसँगै सामाजिक संजाल र मिडिया हुदै घरदैलो सबैतिरबाट जनमतको लागि आफूलाइ पूर्णरुपमा अगाडी बढाए। विभिन्न १६ वटा क्षेत्रलाई समावेश गरि उनले आफू र आफ्नो टिमले पाँच वर्षमा कल्पना गरेको विकसित तथा जनमैत्री वडाको योजना सार्वजनिक गरे। प्रविधि मैत्री वडा, फ्री-वाई फाई, सी सी क्यामरा जडान, सूचनाको सर्वसुलभता, उज्यालो वडा उहाको घोषणा पत्रको प्रविधि मैत्री विशेष कार्यक्रम थिए। सूचना एवं सञ्चारको क्षेत्रमा वडालाई माथिल्लो स्तरमा लैजाने उद्देश्यले पाँच वर्षको कार्यकलका लागि विशेष मार्गचित्र तयार गरेका भरतले यसको लागि अभ्यास पनि सुरु गरिसकेका थिए। हरेक क्षेत्रमा परिवर्तन ल्याउनका लागि सुरुवात आफैबाट गर्नु आवश्यक छ भन्ने सोचका साथ उनले आफ्नो चुनावी अभियान र प्रचार प्रसारलाई लक्षित गर्दै www.bharatshrestha.com नामको वेबसाइट पनि सुरु गरेका थिए । 

 

तर नेपाली काँग्रेस फेरि पनि १३ नं वडामा जित हासिल गर्न असफल रह्यो।त्यसमा पार्टिका सम्पूर्ण सदस्यहरुले आत्मालोचना गर्न जरुरी छ। गठबन्धनलाइ दोष दिएर अथवा मतको किनबेच भयो भनेर कोही पनि पन्छिन मिल्छ जस्तो लाग्दैन। इकाई सभापति भाइनारायण श्रेष्ठले नैतिक रुपमा जिम्मेवार लिनुपर्छ गाम्चाको मत बिग्रिनुमा। यो बेला माहोल राम्रो थियो, सबै सकारात्मक थिए, तैपनि चुनाव हार्नुको कारण सुक्ष्ण बिश्लेषण गरेर पदीय भूमिकामा बसेकाहरुले नैतिकताको आधारमा राजिनामा दिएर नयां ढंगले संगठनलाई अगाडी बढ्न दिनु उचित हुन्छ। 

लेखक: बुढानिलकण्ठ नगरपालिका १३ नेपाली काँग्रेस समर्थक

(लेख ,लेखकको, नितान्त व्यक्तिगत बिचारमा अधारित )