व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट डेढ करोड रुपियाँ अनुदान पाएको पर्वतको महाशीला गाउँपालिकाको नमुना बाख्रा फर्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो । महाशीला १ होश्राङ्दीमा बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको बाख्रा फर्म एक वर्षपछि अलपत्र परेको हो । 

२०७४ सालमा आयोजनाबाट अनुदान पाएको फर्ममा अहिले झार र सिस्नो भरिएको छ ।  भवन खण्डहर बनेको छ । स्थानीयवासीका अनुसार अनुदानका लागि फर्मका भवन बाहेक केही छैन । दुईसय रोपनी क्षेत्रफलमा बाख्रापालनका लागि बनेका ६ वटा खोरमा अहिले बाख्रा छैनन् । 

पहुँचको भरमा ल्याएको अनुदानको दुरुपयोग भएको स्थानीयवासी भीमप्रसाद काफ्लेले बताउनुभयो । दुई छाक खानका लागि जोहो गर्न खाडी जानुपर्ने बाध्यता रहेको गाउँपालिमा करोडौं रुपियाँका फर्म अलपत्र पारिएको काफ्लेले बताउनुभयो । उहाँका अनुसार बाख्रापालनका लागि भनेर संरचना बनाएको भए पनि बाख्रा देख्न पाइएन । 

अनुदान ल्याउन मात्रै बाख्रा देखाइएको तर हाल बाख्रा नै नरहेको स्थानीयवासीहरु बताउँछन् । केही समय करिब ५० वटा बाख्रा राखिएको भए पनि अहिले ती बाख्रा बेचेर भवन मात्रै रहेको स्थानीय कला भट्टराईले बताउनुभयो । 

स्थानीय २९ जनाको शेयर र प्याक्टको अनुदामा शुरु गरिएको सो परियोजना अलपत्र परेपनि कुनै निकायले अनुगमन नगरेको स्थानीयको भनाइ छ । स्थानीयवासी २९ जनाको संलग्नतामा होश्राङ्दी, उराम, भोक्सिङका कृषकहरुले साझेदारीमा सञ्चालन गरेको भएपनि आर्थिक सङ्कटका कारण फर्म बन्द भएको महाशीला गाउँपालिकाका अध्यक्ष तथा फर्मका मुख्य सञ्चालक ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।

अनुदानसहित ३ करोड रुपियाँको लागत अनुमान गरिएकोमा परियोजनाबाट प्राप्त अनुदानबाहेक व्यक्तिले लगानी नगरेपछि सरकारी अनुदानको सदुपयोग नभएको उहाँले बताउनुभयो । भुसालले भन्नुभयो– ‘एक करोड रुपियाँ पाउनुपर्नेमा ७० लाखले मात्रै काम गरियो, त्यसैले समस्या भयो ।’ 

फर्ममा पाँचसय माउ बाख्रा पाल्नेगरी बनाइएका घाँस सङ्कलन गर्नेदेखि पानी खुवाउनेसम्मका संरचना बनिसकेका छन् । अनुदान उपलब्ध गराउने समयमा भने फर्ममा बाख्रा रहेको भेटनरी अस्पताल एवम् पशु विज्ञ केन्द्र पर्वतले बताएको छ । केन्द्रका प्रमुख रामजी पौडेलले अनुदान उपलब्ध गराउँदा फर्ममा बाख्रा रहेको तर अहिले भने अनुगमन नभएको स्वीकार्नुभयो । ‘अनुदान दिने बेला अनुगमन हुन्छ’ उहाँले भन्नुभयो– ‘पछि अनुगमनको कुनै कार्यक्रम नभएकाले गएका छैनौं ।’

यस्तै, जिल्लाको कुश्मा नगरपालिका २ को अर्मादीमा सञ्चालनमा आएको कुखुराको मासु प्रशोधन केन्द्र अहिले शेयरमा विक्री भइसकेको छ । कृषक लालबहादुर हरिजनले सञ्चालन गरेको उक्त फर्म अनुदान आफूले लिएर अन्य व्यक्तिलाई शेयर विक्री गरेको पाइएको छ । उहाँको नमुना व्यावसायिक कृषि फर्म अम्बोटमा समेत अनुदान आएपछि विक्री गरिएको बताइएको छ ।  

योसँगै ठूला अनुदान पाएका जिल्लाका अन्य ठाउँका फर्महरु पनि बन्द भएका छन् । केही अनुदान पाएपछि विक्री भएका छन् । उत्पादनभन्दा अनुदानमुखी कार्यक्रमहरुले जिल्लाको बेरोजगारी कम गराउनुको सट्टा राज्यले करोडौं लगानी गरेका फर्महरु अहिले खण्डहरमा परिणत हुँदैआएको कृषकहरुको गुनासो छ ।