नेपाल साफ यु–१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हिजो भएको खेलमा भारतले नेपाललाई १०-० गोलअन्तरले पराजित गरेको हो । भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भारतले यसअघि पहिलो खेलमा भुटानलाई ७–० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले बङ्गलादेशसँग ३-१ गोलअन्तरको हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा भने नेपालले भुटानसँग ३-० गोलअन्तरले विजयी भएको थियो ।

नेपालविरुद्धको खेलमा भारतले पहिलो हाफमा ६ गोल गरेको थियो । दोस्रो हाफमा भारतले थप चार गोल गर्‍यो । अब प्रतियोगिताको उपाधिका लागि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेलमा आज भुटान र बङ्गलादेशबीच खेल हुँदैछ ।