काठमाडौँ, पुस २१ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न फ्रान्सका राजदूत गिल्स बुर्बाओसँग आग्रह गर्नुभएको छ ।

मन्त्रालयमा मङ्गलबार नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले शिष्टाचार भेटको क्रममा यस्तो आग्रह गर्नुुभएको हो ।

नेपाल–फ्रान्सबीच रहिआएको आपसीसम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुहुँदै मन्त्री श्रेष्ठले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वाससमेत व्यक्त गर्नुभयो । सो अवसरमा राजदूत बुर्बाओले नेपाली स्वास्थ्यकर्मीका लागि फ्रान्सको स्वास्थ्य क्षेत्रमा रोजगारी अवसर सिर्जना हुन सक्ने बताउनुभयो । साथै कोभिड महामारीपछि फ्रान्सको पर्यटन उद्योगमा पनि नेपाली श्रमिकका लागि रोजगारी सिर्जना हुने बताउनुभएको मन्त्री श्रेष्ठका निजी सचिवालयले जनाएको छ । राजदूत बुर्बाओले फ्रान्समा रोजगारीका लागि जान भाषा तथा व्यावसायिक तालिमको राम्रो प्रबन्ध हुनुपर्ने बताउनुभयो ।

राजदूतका अनुसार फ्रान्समा फ्रान्सेली नागरिकसरह नै विदेशी श्रमिकले पनि पारिश्रमिक तथा सामाजिक सुरक्षाको सुविधा उपभोग गर्न पाउनेछन् ।

-गोरखापत्र