संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा गैरकानुनी रूपमा शर्त लेखेको पाइएपछि दुई जना अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ।
अध्यागमन विभागले प्रचलित कानुन र विभागीय नीति विपरीत कार्य गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ती अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएर छानबिन प्रक्रिया अगाडि बढाएको हो।
केही नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै 'रोजगारी पूर्णतया निषेध गरिएको' भन्ने बेहोरा लेखिएको फेला परेपछि विभागले एक्सन लिएको हो।
अध्यागमन विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार नेपाली नागरिकलाई कुनै पनि प्रकारको शर्त तोकेर प्रस्थान अनुमति दिने विभागको कुनै नीति वा निर्णय छैन।
"विभागीय निर्णय र कानुन बाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीहरूलाई विमानस्थलको जिम्मेवारीबाट हटाइएको छ," प्रवक्ता ढकालले भन्नुभयो, "यस विषयमा विभागले गठन गरेको छानबिन समितिले विस्तृत अध्ययन गरिरहेको छ।"

राहदानीमा यसरी शर्त लेखिएको विषय सार्वजनिक भएपछि विभागले २०८२ वैशाख ३ गते नै छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। प्रचलित कानुन विपरीत काम गर्ने जोसुकैलाई पनि छानबिनको दायरामा ल्याई कडा कारबाही गरिने विभागले जनाएको छ।
विमानस्थल अध्यागमनमा हुने यस्ता गतिविधिले नागरिकमा भ्रम र सास्ती सिर्जना गर्ने भन्दै विभागले सेवा प्रवाहलाई थप मर्यादित र कानुनसम्मत बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

प्रतिकृयाहरु