निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानका  दिन दमकल, एम्बुलेन्स, शववाहन लगायतका सवारी साधनलाई पास आवश्यक नपर्ने बताएको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारी साधन अनुमति सम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड ‘त’ दफा ९ र दफा ११ समेतका आधारमा आयोगबाट सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारी साधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरिएको छ । 

उहाँका अनुसार खानेपानीका ट्याङ्कर, दुध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, दूरसञ्चार सेवा, खानेपानी, विद्युत, ढल मर्मतका लागि प्रयोग हुने सवारी साधन, अस्पताल सेवाका सवारी साधन, अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाइ सेवाका यात्रु बोकेका सवारी साधन, हिड्डुल गर्न नसक्ने गर्भवती, सुत्केरी, किरियापुत्री, शारीरिक रुपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिड्डुल गर्न नसक्ने ज्येष्ठ नागरिक बोकेका सवारी साधन आवागमनका लागि पास आवश्यक नपर्ने भएको छ । 

यसैगरी, नम्बर प्लेटमा सिडी उल्लेख भएका कुटनीतिक  नियोगका सवारी साधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रबाहेक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारी साधन, राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमन/पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारी साधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारी साधनलाई प्रेस पास आवश्यक नपर्ने उहाँको भनाइ छ ।