काठमाडौं — काठमाडौं महानगरपालिका–४ स्थित कत्तार भिसा सेन्टर अगाडिको सडकखण्डमा पाँच वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कार, ट्याक्सी र तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा भारतीय नम्बर प्लेटको BR06DD6063 नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल संलग्न रहेका छन्।

दुर्घटनामा घाइते भएकामध्ये काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने ६५ वर्षीया कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको छ। उहाँको टाउको र दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ। सबै घाइतेको काठमाडौं महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घाइते हुनेहरूको विवरण

दुर्घटनामा बाँके घर भई हाल काठमाडौं मनमैजु बस्ने १५ वर्षीया सिवानी शाही घाइते भएकी छन्। उनको बायाँ खुट्टा र मुखमा चोट लागेको छ।

उनका १० वर्षीय भाइ सुशान्त शाहीको बायाँ कान र दायाँ खुट्टामा चोट लागेको छ।

त्यस्तै, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल चालक सर्लाही घर भई हाल ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय बिकी शाहाको बायाँ खुट्टा र हातमा चोट लागेको छ।

बा २ ज ३५७८ नम्बरको ट्याक्सी चालक रामेछाप घर भई हाल भक्तपुर बस्ने ४१ वर्षीय उर्जा लामाको दायाँ घुँडा र बायाँ हातमा चोट लागेको छ।

बा.प्र.–०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल चालक सर्लाही घर भई हाल ललितपुर इमाडोल बस्ने १८ वर्षीय निउजित शाहको दायाँ खुट्टामा चोट लागेको छ।

त्यसैगरी तेह्रथुम घर भई हाल काठमाडौं बसुन्धारा बस्ने ५७ वर्षीया विष्णुमाया खापुङ, उदयपुर घर भई हाल काठमाडौं थानकोट बस्ने २५ वर्षीया पार्वती तामाङ, पल्सर मोटरसाइकल चालक उदयपुर घर भई काठमाडौं बस्ने २५ वर्षीय बिनोद थापा मगर तथा नवलपुर घर भई हाल काठमाडौं गोलढुङ्गा बस्ने २२ वर्षीय जीवन राना मगर पनि घाइते भएका छन्।

दुर्घटनाबारे अनुसन्धान जारी

दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यकामा पछिल्लो समय सवारी चाप, तीव्र गति, सडक अनुशासनको कमी तथा चालकको लापरबाहीका कारण दुर्घटनाका घटना बढ्दै गएका छन्। प्रहरीले चालक तथा यात्रुलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै आएको छ।