चार करोड रुपियाँ बिगो र सोही बराबरको जरिवानासहित कैद सजाय सुनाइएका बैंकिङ कसुरका फरार प्रतिवादी दीपक चन्द्र न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुरको साविक झौखेल गाविस–३ (हाल चाँगुनारायण नगरपालिका–३) निवासी ६३ वर्षीय न्यौपानेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज २२ गते भक्तपुर नगरपालिका–१ स्थित सृजनाटोलबाट पक्राउ गरेको हो ।
राधा पाण्डेयको जाहेरीका आधारमा नेपाल सरकार वादी र न्यौपाने प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतले २०८१ वैशाख ७ गते न्यौपानेलाई चार करोड रुपियाँ बिगो, बिगोबमोजिम जरिवाना र एक महिना १५ दिन कैद सजाय हुने फैसला गरेको थियो ।
अदालतको फैसलापछि सजाय भुक्तान नगरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले खोजी गरी उनलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका न्यौपानेलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृयाहरु