साझा यातायातले आगामी पुसमा तीनवटा विद्युतीय बस आइपुग्ने जनाएको छ । विद्युतीय बसबारे जानकारी लिन बिहीबार साझा यातायातको कार्यालय पुल्चोक पुग्नुभएकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई साझा यातायातले सो जानकारी दिएको हो । 
सो अवसरमा मन्त्री भुसालले विद्युतीय सवारीसाधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिनुभएको छ । डलरमा खरिद गरिएको एलपी ग्यास र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । उच्च व्यापार घाटा कम गर्नका लागि पनि विद्युत् खपतलाई बढावा दिनुपर्ने बताउनुभयो । 
मन्त्री भुसालले चार्जिङ स्टेसनका लागि उपयुक्त विकल्प खोज्न पहल गर्ने बताउनुभयो । उहाँले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह गर्नुभयो । 
ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनमा सरकारका तर्फबाट सहयोग हुने बताउनुभयो । 
साझा यातायात सञ्चालक समितिका अध्यक्ष कणकमणि दीक्षितले जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पहिलो चरणमा चार महिनापछि तीनवटा विद्युतीय बस आइपुग्ने बताउनुभयो । 
साझा यातायात सञ्चालन सदस्य भूषण तुलाधरका अनुसार करबाहेक एउटा बसको मूल्य एक करोड पाँच लाख रुपियाँ पर्नेछ । कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रतिबस एक करोड ५२ लाख रुपियाँ लागत लाग्नेछ ।