गन्हाउने राजिनिती ! को हो देउता, को हो दानव ?

एक जना जानेमानी पत्रकारले भन्नू भएको थियो । "यहाँ कि त कसैको देवत्वकरण बिक्छ, कि कसैको दानबिकरण" सायद यो सुत्रको ज्ञान कपनका स्थानिय अनलाईन मिडियाहरुलाई भलिभाती जानकारी छ । त्यसैको प्रतिफल स्वरुप चुनावी सरगर्मिमा भोटको रोटि सेक्ने अभिप्रायले यथेष्ठ प्रयासहरु भएको पाईन्छ । प्रश्न यो मात्र होइन कि कसले सहि गर्‍यो वा कस्ले गलत गर्‍यो ? या को देउता हुन या को दानव हुन ? प्रश्न यो पनि हो कि पाठकहरुले यस्ता खेललाई कसरी लिएका छन ?

कपन डुबानको समस्या सारै ठूलो समस्या हो कि त्यो भन्दा ठूलो अन्य समस्या नै नभएको हो ? बूढानीलकण्ठमा समस्या कपनमा मात्र छ कि अन्यत्र पनि छन ? कपन डुबान मात्रै समस्या हो कि, समस्या अरु पनि छन ? चाहे जे होस, कपन डुबानको समस्यामा समाधानको मार्गचित्र कोर्न भन्दा बढी मज्जा हिलो छेप्नमा आएको देखिन्छ ।

काठमाडौ क्षेत्र नं ४ अन्तर्गत रहेको कपन डुवानक्षेत्र नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाको चुनाव क्षेत्र हो । आफ्नो कार्यकालको साढे तीन वर्ष को अवधिमा केन्द्रमा नेकपाको सरकार, स्थानिय तहमा एमालेको सरकार बन्यो । त्यो पनि खोला पारीवाट उद्दव खरेल मेयर भए ।

एकातिर सांसद गगन थापाको पहुचमा केन्द्रिय योजना आउन सकेन । अर्को तर्फ खोला पारिका मेयर उद्दव खरेलको प्राथमिकतामा कपन डुबान परेन या नगरपालिकाको साधनस्रोत वा सामर्थ्यले भ्याएन । पछिल्लो डेढ वर्ष केन्द्रमा कांग्रेस गठबन्धनको सरकार छ । गठबन्धनको आपसी किचलो, पाटिको महाधिवेशन, महामन्त्रीको जिम्मेवारी अनि स्थानिय चुनाव आदिमा रुमल्लिदा रुमल्लिदै बिषयले गगन थापाको प्राथमिकता परेन ।

यद्यपि समाधानको निमित्त भनेर ढल, कलभर्ट लगायतका केही पहलकदमी भएका छन तर त्यो पनि दुरगामी समस्याको समाधान हो भनी ढुक्कले भन्न सकिने अवस्था छैन । सांसद, नेता, कार्यकर्ता र तिनका मिडिया हाउसहरुले कपन डुबानको ठोस समाधानको लागि जति प्रयासहरु गरेका छन त्यो भन्दा बढी एक अर्कालाई बदनाम गर्ने कार्यमा सक्रिय छन । गत चुनावमा यसै क्षेत्रमा पराजित नेता राजन भट्टराईले त प्रतिद्वन्दी सांसदलाई "नालायक" सम्म पनि भन्न भ्याए ।

नेपाली कांग्रेस समर्थित केही स्थानिय मिडियाहरुले नवनिर्वाचित नगर प्रमुख मिठ्ठाराम अधिकारीको उछित्तो गरेको देखिन्छ । तात्कालिन समयमा उनी गा.वि.स अध्यक्ष थिए । उनकै पालामा ढल राखेर सडक बनाउने कार्य भयो । आजको परिणामले त्यो बेलामा सहि गरिएन भन्ने कुरा स्वीकार गर्न सकिन्छ ?

रात गयो, बात गयो । तर अहिले गडेको मुर्दा निकाल्न उद्दत देखिन्छन । अहिलेको बहस पैरवी; अब के गर्ने भन्ने हुनु पर्नेमा हिजो के भयो भन्नेमा केन्दृत छ । के अब मेयरलाई कान समातेर उठबस गर्न लगाउनु पर्ने हो ? कि वहाँको घरघरान वाट क्षतिपूर्ति असुल गराउनु पर्ने हो ? यदि त्यस्तो उपाय छ भने त्यसै गरौं । होइन भने यो बेतुकको बहसले के उपलब्धी हुन्छ ?

यस्ता दृष्टान्त अन्यत्र पनि छन; हिजो गोरेटो बाटो भएको ठाउँमा अहिले फराकिलो सडकको छ । त्यसो भन्दैमा हिजो गोरेटो बाटो बनाउनेलाई गाली गरि बस्ने ? काठमाडौका पुराना साघुँरा सडक थिए । आज त्यो सडकले नपुगेर संरचना भत्काइए । के अब निर्माणकर्तालाई गाली गरि बस्नु ? हिजोको समयको त्यही माग थियो । तिसौ बर्ष त्यसको उपभोग पनि गरियो । तर आज ! आजको अनुकुल भएन, अब बिकल्प खोजौ !

जसले जसलाई जति नै दोष थोपरे पनि वा जसलाई गुणि साबित गराउन खोजे पनि, कपन डुबानको समस्या कुसंस्कृत राजनितिक प्रचारवाजिले रमिते बनेको हो । हिजोका कमजोरीहरुवाट पाठ सिक्दै समस्याको दिर्घकालिन समाधान खोज्ने हो। कसैको देवत्वकरण वा दानवियकरणको निशाना के हो ? जनताले राम्रो सँग बुझेका छन । अनुत्पादक कार्यमा समय र दिमाग खर्च गर्नुको कुनै अर्थ छैन ।