नापी कार्यालय कलंकी, काठमाडौँका सर्वेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध चार करोड ७४ लाख ४६ हजार ८१३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठ सार्वजनिक पदमा नियुक्ति हुनुभएको मिति २०५३ साउन २७ गतेदेखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी निज तथा निजको एकाघर परिवार, सगोलमा रहेका व्यक्तिहरुको आम्दानी तथा खर्चको गणना गरी विश्लेषण गर्दा सार्वजनिक सेवाबाट प्राप्त पारिश्रमिक, तलब, रकम, भत्ता, जग्गा बिक्री, आय, निजको छोरीले प्राप्त गरेको पारिश्रमिक आय, ऋण सापटीबाट प्राप्त वैधनिक आय कुल सात करोड ७५ लाख ७८ हजार ८४० रुपियाँ छ ।

सोही समयमा व्ययतर्फ जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, निजको छोरीहरुको अध्ययन खर्च, कर्मचारी सञ्चय कोष तथा व्यक्तिगत ऋण सापटी तिरेको रकम कुल १२ करोड ५० लाख २५ हजार ६५४ रुपियाँ छ । यसर्थ, निजको कुल वैधानिक आयभन्दा कुल व्यय अधिक हुन गएको पुष्टि भएको आयोगले जनाएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम श्रेष्ठ र उनकी पत्नी कमला श्रेष्ठउपर बिगो रकम चार करोड ७४ लाख ४६ हजार ८१३ रुपियाँ कायम गरी बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।