भोटेकोशी बाढीमा ज्यान गुमाएकाको पहिचानका लागि प्रहरीले सार्वजनिक गर्‍यो शवको सूची

रसुवा — रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव संकलन गरी प्रहरीले पहिचानका लागि सूची तयार पारेको छ।

बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका तर हालसम्म सनाखत हुन नसकेका शवहरूको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको हो। मृतकका परिवार तथा आफन्तलाई पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले प्रहरीले सूचीमा शवको अनुहार तथा हुलिया देखिने तस्वीरसमेत समावेश गरेको जनाएको छ।

प्रहरीले सार्वजनिक गरेको क्यूआर कोड स्क्यान गरेर पहिचान नभएका शवहरूको सूची हेर्न सकिने व्यवस्था गरेको छ। नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत क्यूआर कोड सार्वजनिक गरेको जनाएको छ।

क्यूआर कोड स्क्यान गरेपछि पहिचान हुन बाँकी शवहरूको विवरण तथा तस्वीरमा पुग्न सकिनेछ। यसबाट बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका परिवार तथा आफन्तलाई आफ्ना नातेदारको अवस्था पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। -Nepal police 

प्रहरीले बाढीबाट प्रभावित तथा सम्पर्कविहीन व्यक्तिका परिवारलाई उपलब्ध विवरण सावधानीपूर्वक हेर्न र पहिचान भएमा सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

भोटेकोशी बाढीपछि विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहेकाले पहिचान, सनाखत र अभिलेखीकरणको प्रक्रिया पनि सँगसँगै अघि बढाइएको प्रहरीले जनाएको छ।