नेपालको राजनितिक बिकासक्रममा पछिल्लो समयमा अत्याधिक सुनैदै आएको शब्द हो " समाजवाद ! समाजवादी !" । नेपालको संविधान २०७२ जारी भए पश्चात् अझ धेरै समाजवादको उच्चारण भएको पाईन्छ । समाजवाद भन्ने बितिक्कै कार्ल मार्क्सले प्रतिपादन गरेको समाजवादको सिद्धान्त सगँ जोडिन्छ र कार्लमार्क्स साम्यवाद अर्थात कम्युनिजमका हिमायती हुन । यसरी हेर्दा समाजवाद कम्युनिष्टहरुले अंगिकार गरेको सिद्धान्त हो भने झै लाग्छ । नेपालको पछिल्लो राजनितिमा किन यसको प्रयोग भएको पाईन्छ ? के यो कमन्युष्टहरुको मात्र हो त ? वास्तवमा यसको अर्थ के हो ?

नेपालको संविधान २०७२ को प्रस्तावनामा नै " लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद प्रती प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने " भनिएको छ । संविधान राज्यको मुल कानुन हो । संविधान सबैको साझा दस्तावेज हो । र यसै संविधान अनुसार निर्माण भएका सबै राजनितिक दलको साझा मार्गचित्रको रुपमा समाजवादलाई स्वीकार गरेको छ । यस अर्थमा हेर्ने हो भने नेपालमा समाजवाद कुनै कम्युनिष्टहरुको मात्र सिद्धान्त होइन । नेपालमा अस्तित्वमा रहेका हरेक राजनितिक बिचारधाराको मार्गचित्र हो "समाजवाद। राजनितिक दलको नाममा नेकपा राखेपनि, नराखेपनी, दलको नाम समाजवादी राखेपनि वा नराखेपनि वा पुरातन दल भएपनि वा उग्र अग्रगमनवादी नै भए पनि नेपालको संविधान स्वीकार गरेका, संविधानको प्रावधान अनुसार स्थापित भएका सवै राजनितिक दलको साझा सम्पत्ति हो "समाजवाद" ।

सामजवादको सटिक अर्थमा हेर्ने हो भने यो एक बर्गहिन, बिभेदहिन, समान अवसर र समान अधिकारको परिकल्पना हो । यसैको प्रतिफल स्वरुप नेपालको संविधानले जतिय, बर्गिय, लिंगिय, धार्मिक, साम्प्रदायिक, सिमान्तकृत बर्ग सबैलाई समान हैसियत प्रदान गरि सबैखाले बिभेदको अन्त्य गरि सबैलाई समान अवसर र अधिकार प्रत्याभुत गरेको छ ।

नेपाल एक बिकासोन्मुख मुलुक हो । बिकासोन्मुख मुलुकको आर्थिक प्रगती प्रमुख चुनौती हुन्छ । कार्ल मार्क्स तथा एङ्गेल्सले प्रतिपादन गरेको समाजवाद अर्थशास्त्र सँग जोडिएको छ । कार्ल मार्क्सको बिचारमा समय परिवर्तनशिल हुन्छ । राज्यको साधन स्रोतमा पहुच भएका ब्यक्तिहरु यथास्थितिमा रहन चाहन्छन । पहुँच नभएकाहरु परिवर्तन चाहन्छन । यथास्थितिमा रहन चाहने र परिवर्तन चाहनेहरु बिच सधै द्वन्द हुन्छ । यसैलाई उनले द्वन्दात्मक भौतिकबाद भनेका छन । आज सम्म भएका राजनैतिक क्रान्ती पनि यसैको उपज हो ।

समाजवाद जस्तै पुँजिवाद पनि नेपालका सबै राजनैतिक दलले स्वीकार गरेका छन । खुला अर्थतन्त्र र लगानी स्वतन्त्रता पुँजिवादको मेरुदण्ड हो । कार्ल मार्क्सको समाजवाद उत्पादन सँग जोडिएको बिषयबस्तु हो । पुजिवादी अर्थतन्त्रमा उत्पादनको साधनस्रोत सिमित शक्तिशाली (बुर्जुवा)हरुको अधिनस्थ हुन जान्छ । उत्पादनको अर्को अभिन्न अंग श्रमिक वर्ग अर्थात सर्वहारा बर्गमाथी थिचोमिचो हुन्छ । उनिहरुले आफ्नो श्रमको उचित मूल्य पाउदैनन । यसको कारणले पुजिपती वर्ग र सर्वहारा बर्ग बिच बर्ग संघर्ष सुरु हुन्छ । उक्त संघर्षमा जित सर्वहारा बर्गको हुन्छ । उत्पादनको साधनस्रोत सर्वहारा बर्गको अधिनमा पुगेपछी समनतामा आधारित समाजवाद आउँछ । समाजवाद साम्यवाद तर्फ उन्मुख हुन्छ । यसै कारण कम्युनिस्ट पार्टिमा आस्था राख्ने दल सँग समाजवाद निकट देखिएको हो ।

नेपालको संबिधानमा "लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद प्रती प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न " भन्ने वाक्यांश प्रयोग हुनुको पछाडी समान हक, उत्पिडन मुक्त समाज, अधिकार सम्पन्न नागरिक, लोकतान्त्रिक पद्धतिको सन्तुलनता आदि रहेका छन । उत्पिडित, पिछडा बर्गको हक हितको संरक्षण राज्यको कानुनले गर्दै समृद्धी उन्मुख अर्थतन्त्रको परिकल्पना गरिएको छ ।

नागरिकको मौलिक हकको संरक्षण गर्न र सरकारको स्वेच्छाचारीतालाई नियन्त्रण गर्ने दस्तावेजको रुपमा संविधानलाई लिने गरिन्छ । नेपालको संविधानले लोकतन्त्र र खुला अर्थतन्त्र मार्फत पुजिवादी अर्थतन्त्रलाई स्थान दिएको छ । समान हैसियत र समान अधिकार प्रदान गरेर समाजवादलाई संरक्षित गरेको छ । यसै कानुन अन्तर्गत स्थापित र सञ्चालन भएका सबै राजनैतिक दल न निख्खर पुजिवादी हुन न समाजवादी नै । पुँजिवाद र समाजवाद दुबै बादलाई सबै राजनितिक दलले अंगिकार गरेका छन । पुँजिवाद वा समाजवाद कुनै पुरातनवादि दल वा क्रान्तिकारी दलको मात्र सम्पत्ती होइन । मात्र पात्र फरक छन ।