नेपालगञ्ज, मङ्सिर ७ गते । काठमाडौंबाट रुकुमको सल्ले विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमानका चालक दलको ड्युटी समय सकिएपछि नेपालगञ्जमा अवतरण गराएर यो उडान निर्देशिका अनुरुप भएको बताइएको छ । 
नेपाल एयरलाइन्सको अपरेशन डिपार्टमेन्टका अनुसार फ्लाइट अपरेसन रिक्वायरमेन्टको क्लज नम्बर १४.६.१ का अनुसार चालक दलले १० घण्टा भन्दा बढी ड्युटी गरेमा नागरिक उड्ययन प्राधिकरणले लाइसेन्स समेत जफत गर्ने प्रावधान रहेकोले सो विमानलाई नेपालगञ्जसम्मकै लागि सो दिन पठाईएको थियो । 
गत आइतवार विहान ६ बजेर ३० मिनेटमा काठमाडांै नेपालगञ्ज रुकुम सेड्युल उडान मौसमका कारण स्थगित भएपछि सोही दिन दिउँसो २ बजेर ५८ मिनेटमा उक्त उडान गरिएको थियो । 
तर, चार बजेसम्म मात्रै सो विमानका चालक दलको ड्युटी समय रहेकोले विमानलाई नेपालगञ्जमा अवतरण गराई यात्रुलाई होटलमा राखेर अर्को दिन सोमवार विहान विमान रुुकम पठाईएको थियो । 
नेपाल एअरलाइन्स रुकुमका प्रमुख गोविन्द गिरिले रुकुमका १० जना यात्रु सहित काठमाण्डौबाट नेपालगञ्ज हुँदै रुकुमका लागि उडेको विमान सो दिन रुकुम नपुगेर नेपालगञ्जमा अवतरण गरि अर्को दिन विहान रुुकम पुगेको बताउनुभयो । 
उहाँले आइतवारनै रुकुम आउनु पर्ने विमान के कति कारणले नेपालगञ्जमा रोकियो त्यस बारेमा आफुलाई जानकारी नभएको बताउँदै तर यात्रुहरु दुई दिनमा रुकुम पुगेको बताउनुभयो । 
सो कारणले काठमाण्डौदेखि रुकुम आउने यात्रु र यात्रुका आफन्त दुबैलाई समस्या भएको प्रमुख गिरीले बताउनुभयो । 
उता, नेपाल एअरलाइन्सको अपरेशन डिपार्टमेन्टले सो विमानको चालक दलले विहान ६ बजे रिपोर्टिंग गरेको जनाउँदै रिपोर्टिंग गरेको १० घण्टासम्म मात्र चालक दलको ड्युटी रहने हुँदा ४ बजे ड्युटी समय सकिने भएकोले उक्त विमानलाई अर्को दिन विहान रुकुम जाने गरि नेपालगञ्ज सम्मकालागि नै पठाईएको जनाएको छ । 
उक्त उडान सो दिन नेपालगञ्जकै लागि गरिएको जनाउँदै सो बारेमा आएका अन्य कुराहरुमा कुनै सत्यता नभएको उक्त डिपार्टमेन्टले प्रष्ट पारेको छ । 
डिपार्टमेन्टका अनुसार फ्लाइट अपरेसन रिक्वायरमेन्टको क्लाज नम्बर १४.६.१ का अनुसार चालक दलले १० घण्टा भन्दा बढी ड्युटी गरेमा नागरिक उड्ययन प्राधिकरणले लाइसेन्स समेत जफत गर्ने प्रावधान रहेकोले सो विमानलाई नेपालगञ्जसम्मकै लागि सो दिन पठाईएको थियो । 
आकाशमै उडिरहेको बेला ड्युटी समय सकिएकोले विमानलाई नेपालगञ्जमा एक्कासी अवतरण गराएर यात्रुलाई दुख दिएको भन्ने कुरा असत्य रहेको पनि नेपाल एअरलाइन्स क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ ।