इन्द्रजात्रा (येया पुन्हिः) नेवार परम्परा अनुसार भाद्र शुक्लपक्ष 'यँलाथ्व द्वादशी' को दिन मनाइने इन्द्रध्वजोत्थानबाट प्रारम्भ भएर 'यँलागाः चौथी' अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न देवी देवतासंग सम्बन्धित नाच, गान र रथयात्रा (विशेषतः कुमारी, भैरव र गणेश) गरेर सम्पन्न गरिने यो जात्रालाई मुख्यतः दुई प्रकारले मनाउने चलन रहि आएको छ । अनुहारमा विभिन्न देवी देउताका 'ख्वापाः' (अर्थात् मुखौटा) लगाई नेवार समूदायका विभिन्न गुठी र समुहहरू मिली नाचगान गर्ने गरिन्छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, धुलिखेल र दोलखा समेतमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गर्ने गरिएको छ । काठमाण्डौंमा दशौं शताब्दीका लिच्छविकालिन राजा गुणकामदेवले इन्द्रजात्राको चलन चलाएको मानिन्छ भने कुमारी जात्रा भने अठारौं शताब्दीको मध्यमा शुरूवात भएको मान्यता रहिआएको छ । यस दिन काठमाण्डौंका बुद्धमार्गी नेवार समूदाय र हिन्दु मान्यताका नेवार समूदायहरुको अभूतपूर्व सहिष्णु सम्बन्धको मेल काठमाण्डौंको बसन्तपुर दरवार स्क्वायरमा देख्न सकिन्छ ।