विराटनगर, माघ ६ गते । कोरोना भाइरसको संक्रमण बढेसँगै प्रदेश १ मा उपचारका लागि अस्पताल भर्ना हुने बिरामीको संख्यापनि बढ्न थालेको छ । पछिल्लो एक सातामा उपचारका लागि अस्पताल भर्ना हुने संक्रमितको संख्या दोब्दर भन्दा बढीले वृद्धि भएको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस ३० गते अस्पतालमा भएको संख्याको तुलनामा माघ ४ गते अस्पतालमा भर्ना भएर उपचार गराउनेको संख्या दोब्बर बढीले वृद्धि भएको हो । पुस ३० गते प्रदेश १ का विभिन्न अस्पताहरुमा २३ जना संक्रमितहरु उपचारका लागि भर्ना भएका थिए । पुस ५ गते त्यो संख्या बढेर ६० जना पुगेको छ ।
अस्पतालमा उपचार गराउनेको संख्या बढेसँगै आइसियु, एचडियू र भेन्टिलेटरमा राखेर उपचार गराउने संक्रमितहरुको संख्यापनि बढेको पाइएको छ । पुस ३० गते सार्वजनिक भएको विवरणमा उपचाररत २३ जनामध्ये भेन्टिलेटरमा चार जना थिए । माघ ५ गते सात जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । पाँच दिनको अवधिमा भेन्टिलेरमा राखेर उपचार गर्नुपर्ने बिरामी दोब्बरले बढेको पाइएको हो ।
मंगलबारसम्म प्रदेश १ का विभिन्न १० वटा अस्पतालहरुमा कोभिडका बिरामी भर्ना भएर उपचार गराइरहेको पाइएको छ । सबैभन्दा धेरै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० जनाको उपचार भइरहेको छ । उपचाररत २० जनामध्ये ६ जना भेन्टिलेरमा छन् भने १४ जना एचडियूमा छन् । विराटनगर स्थित प्रदेश सरकारले स्थापना गरेको कोसी कोभिड अस्पतालमा १८ जनाको उपचार भइरहेको छ । विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा १२ जना उपचाररत छन् । विराटमा १० जनाको उपचार एचडीयूमा राखेर भइरहेको छ भने एकजनालाई आइसियूमा राखिएको छ । उपचाररत १२ जनामध्ये १० जना आइसीयूमा र एकजना भेन्टिलेटरमा छन् । यस्तै झापाको मेची अस्पतालमा एक जना, बिर्तामोडको बी एण्ड सी अस्पतालमा दुई जना, बिर्तासिटी अस्पतालमा दुई जना र आम्दा अस्पतालमा तीन जना उपचारका लागि भर्ना हुनुभएको छ । यस्तै ओखलढुंगा अस्पतालमा एक जना र उदयपुर अस्पतालमा एक जना गरी बुधबार अपरान्हसम्म प्रदेश १ मा ६० जना बिरामी अस्पताल भर्ना भएर उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो पाँच दिनमा प्रदेश १ मा संक्रमितको संख्या पनि दोब्बरले बढेको छ । पुस ३० गते प्रदेश १ मा ३७९ जना थप व्यक्तिहरुमा संक्रमण पुष्टि भएकोमा माघ ५ गते ८९१ जनामा थप संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।
प्रदेश सरकारले कोरोना संक्रमण दर बढ्दै गएको अवस्थामा उपचारका लागि प्रदेशभरका अस्पतालहरुमा ९६९ शय्याहरु तयारी अवस्थामा राखेको छ । जसमा १०७ शय्या भेन्टिलेटर, ११८ शय्या आइसियू, ३०९ एचडियू र २४४ आइसोलेशन शय्याको प्रवन्ध गरिएको छ । मंगलबार अपरान्हसम्म प्रदेश १ मा तीन हजार ७१९ जना सक्रिय संक्रमितहरु रहेको पुष्टि भएको छ । जसमा अस्पतालमा उपचाररत ५६ जना बाहेक सबै होम आइसोलेसनमा घरमै बसेर उपचार गराइरहेका छन् ।
सामाजिक विकास मन्त्रालयका कोभिड १९ तथ्यांक शाखाका संयोजक डा. रविन्द्र निरौलाले दैनिक रुपमा संक्रमितको संख्या बढेसँगै अस्पताल भर्ना हुने दरपनि बढिरहेको पाइएको जानकारी दिनुभयो । उहाँले संक्रमणको तुलनामा भने अस्पताल भर्ना भएर उपचार सेवा लिनेहरु न्यूनमात्र बढेको यस अवधिमा देखिएको बताउनुभयो ।
फोटो क्याप्सन ः विराटनगर स्थित कोसी कोभिड– १९ अस्पताल । तस्बिर ः शशिधर पराजुली÷विराटनगर ।