मेयर साव (मेर्साव)

नेपालमा आजकाल नयाँ जमाना आएको छ।

देशको कुना कुनामा मेर्सावको चर्चा छाएको छ।।

 

जनता चाहन्छन् देश विकास होस्,

लाउन खान कसैलाई दुख नपरोस्,

क्षमता अनुसारको काम मिलोस्

सवै मिलेर देश सम्वृद्ध वनोस्

संविधानले नयाँ थिती ल्याएको छ।

देशमा आजकाल मेर्सावको युग छाएको छ।।

 

विकास र सम्वृद्धिसवैको माग हो,

माग पुरा गर्ने मेर्सावको काम हो,

जनतालाई फुर्सत छैन, आफ्नै चटारो छ,

विकास र सम्वृद्धि देख्ने सबैलाई हतारो छ।

वाटो हिँड्न सकिँदैन, छिटो बन्नुपर्यो।

पिउने पानी कहाँ पाउनु? खोजी खोजी हिड्नु पर्यो।

ढल वाटो फोहोर भताभुङ्ग वेथिती बढेको छ

थिती बसाल्ने चर्चा सँगै, मेर्सावको भाउ बढेको छ।

 

हामी जनता हौँ, गरी खान परेन?

भोट हाल्देकै छौँ, भने जस्तो गर्नुपरेन?

काम दिन्छु माम दिन्छु भन्थ्यौ,

खोई ! जागिर पाईएन?

डेढ वर्ष वितिसक्यो जवाफ चाहिएन!

 

देशमा सबै चिज एकैपटक चाहिएको छ,

हामी अरु जान्दैनौ, जागीर दिने मेर्साब चाहिएको छ।

लामो समय पछि स्थानीय सरकार बनेको छ,

जनताको अपेक्षा चुलिएको छ।

वजेटको  सिमा तकिएको छ।

नीति नियम र वाधा अड्चन थुप्रेको छ।

घोषणा अनुसार वाचा पुरा गर्नु परेको छ

त्यसैले जताततै मेर्सावको चर्चा चलेको छ।।

वाटो वनाउनै पर्छ! जग्गा दिदै दिदैनौँ

सफा वातावरण खोई? फोहर गर्न छोड्दैनौँ,

शुसासन चाहियो, मेरो काम पहिला होस्

नेताहरु पारदर्शी होउ!हामी जोगी वन्न सक्दैनौँ।।

भ्रष्टाचार गर्नै हुन्न म बाहेक अरुले

पारदर्शी गर! हामी चाँही सवैलाई थाहा दिदैनौँ

छिटो विकास गर! हामी अरु जान्दैनौँ

देशमा सम्वृद्धिको चर्चा चलेको छ

स्थानीय सरकार सँगै मेर्सावको भाउ बढेको छ।

कर्मचारी कार्यालयमा छैनन्, मेर्साव खोई?

विल भरपाई मिलाउन सकिएन ! मेर्साव खोई?

विकास गर्दा घाटा भो मेर्साव खोई?

भत्ता पुगेन, मेर्साव खोई?

वजेट पाईएन, मेर्साव खोई?

 

वजारमा देउसी रोईलो चलेको छ

आजकाल देशमा, मेर्सावको भाउ बढेको छ।

बिहान सवेरै भेट्नु थियो मेर्साव।

वेलुका कति बेला फर्कनु हुन्छ मेर्साव।

विद्यालय दिवश छ, आउनु पर्यो मेर्साव।

सहकारी अनि टोल सभा, पाल्नै पर्यो मेर्साव

संघ-संस्था छलफल, तपाँई विना हुँदैन मेर्साव

तारे होटल गोष्ठी, जानै पर्यो मेर्साव

जनता बिरामी भेटघाट, ध्यान दिनोस् मेर्साव

एकै समय दुई कार्यक्रम, जसरीनी आउनु मेर्साव

गार्हो परेन त मित्र ?

 मिलाउनै पर्छ, मेर्साव..

भोज भतेर रमाईलो छोड्नै हुन्न मेर्साव

मर्दा पर्दा नजाने? के काम? मेर्साव

रात विहान गार्हो भो, भन्नै भएन मेर्साव

 

भ्याई नभ्याई नगरहरुमा देउसी रोईलो चलेको छ

आजकाल देशभर मेर्सावको चर्चा अनि भाउ वढेको छ।।

          -बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेल