नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनको चर्चा चलिरहँदा छिमेकी मुलुक चीनमा नेपाली फिल्म प्रदर्शनको तयारी गरिएको छ। गत नोभेम्बर १० देखि नोभेम्बर १३ सम्म चीनमा भएको द फेडेरेसन अफ मोसन पिक्चर प्रोड्युसर्स इन एसिया प्यासिफिकको बैठकमा नेपालसहित विभिन्न मुलुकका फिल्मलाई त्यहाँ प्रदर्शनका लागि वातावरण तयार गर्ने सहमति भएको हो।
बैठकमा सहभागी भएर हालै मात्र स्वदेश फर्किएका नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बैठकमा सहभागी २५ देशमध्ये प्रत्येक देशले प्रति देश ५ वटा फिल्म चीनमा प्रदर्शन गराउने सहमति भएको बताउनुभयो। ‘प्यासिफिकमा सहभागी २५ देशले प्रति देश ५ फिल्मलाई चीनमा लगेर प्रदर्शन गर्न सक्नेछन्। त्यसका लागि उनीहरूले ३ देखि ५ मिनेटको प्रोमो बनाउनुपर्नेछ’,बिहीबार पत्रकारमाझ उहाँले भन्नुभयो, ‘फिल्म भन्दा बाहिरको विषयबस्तु राखेर प्रोमो बनायो भने त्यो फिल्म चीनमा प्रदर्शन हुँदैन।’ यसपटकदेखि नेपालले प्यासिफिकमा सदस्यता पाएको हो।
‘चिनियाँ फिल्मकर्मीहरूले फिल्मको प्रोमो मनपराएपछि त्यसको चिनियाँ अधिकार आफूले लिएर अनुवाद गर्नेछन्। चीनमा युट्युब, गुगल र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लागेकाले पनि युट्युब अधिकार भने निर्माताले चीनका लागि बेच्न पाउने छैनन्’,उहाँले भन्नुभयो। नागरिकन्यूज डटकमका अनुसार संघका वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले सार्वजनिक सडकको फूटपाथमा बनाइएका डिजिटल डिस्प्लेमा पोस्टर टाँस्ने व्यवस्था मिलाउन महानगरपालिकासँग कुराकानी गर्ने योजना सुनाउनुभयो।