सामाजिक संजाल फेसबुकमा प्रिन्स गौतम नामक आइडी बनाएर ठगी गर्ने एक व्यक्तिलाई जिल्ला अदालत ताप्लेजुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ। स्काइभेटर मेसिन भाडामा दिन्छु भन्दै १३ लाख ३५ हजार ठगी गर्ने ललितपुरको इमाडोल बस्ने ४६ वर्षीय निरञ्जन गौतम कारागार चलान भएका हुन्।

 

गौतमले कार्तिक १५ गते फेसबुकमा 'स्काइभेटर मेसिन चाहिएमा भाडामा दिन्छु, ९८१५७५१७०१ मोबाइल नम्बरमा सम्पर्क गर्नुहोस्', भन्ने स्टाटस लेखेका थिए। 'सोही स्टाटसको आधारमा गौतमसँग म्यासेञ्जरमा कुरा गरी ताप्लेजुङ फुङलिङ नगरपालिका १० का विनोद लिम्बूले आइमएइमार्फत् पैसा पठाएका रहेछन्', जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाले भने, 'लिम्बूले जाहेरी दिएपछि झापाको काकडभिट्टाबाट पक्राउ गरिएको हो।'

 

प्रहरीले गौतममाथि ठगी कसूरमा अनुसन्धान कार्य पुरा गरी ताप्लेजुङ्ग जिल्ला अदालतमा पेश गरेको थियो। अदालतले मंसिर १३ गते पुर्पक्षका लागि कारागार चलान गरेको हो।

(अन्नपूर्ण पोष्ट)