साँझको ५:४५ बजेको थियो। जोमसोमै बजारमा १२ बजे हावा सरर...भन्ने गीत गाउँदै स्टेज चढेका नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ दुई घण्टासम्म आफू एक्दै गाउने र नाच्ने मात्र गरेनन् झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालाका दर्शकलाई मंगलबार साँझ एकथाथ नचाए। 
आफ्नै ब्याण्डका चर्चित गीत गाएका गुरुङले गीतको बिचमा भन्दै थिए, 'जीवन अमुल्य छ, ट्राफिक नियमको पालना गरौं र दुर्घटनाबाट बचौँ।' दिनहुँ हुने सवारीसाधन दुर्घटनालाई निरुत्साहित गर्न प्रचारात्मक अभियानका लागि नेपथ्य ब्याण्डलाई बोलाएर झापामा राखिएको सांगीतिक प्रस्तूतिमा गायक गुरुङले कहिले ट्राफिक नियमको पालना गराउन आग्रह गर्थे त कहिले नियम कानुन बनाउने जनप्रतिनिधिलाई जनताको हितमा काम गर्न आग्रह पनि गर्थे। 
उनको प्रस्तूतिसँगै हजारौँको संख्यामा उपस्थित झापाबासी दर्शक त्यतिकै उत्साहित रुपमा चिसो र सीतको प्रवाह नगरी नाचिरहे। नेपाली सांगीतिक क्षेत्रमा चर्चित गीत संगीत मात्र नभई देशभक्तिपूर्ण गीत र स्टेज सोमा ख्याती कमाएको नेपथ्य ब्याण्डका गायक अमृत गुरुङले 'अस्तिको कुरा बिस्यौं कि कुन्नी,' 'जोमसोमै बजारमा', 'गाउँ-गाउँबाट उठ' लगायतका गीत गाउँदा दर्शकबाट वान्स मोर, वान्स मोरको आवाज आइरहन्थ्यो। 
सांगीतिक माहोलमार्फत सडक दुर्घटना न्यूनिकरणका लागि सचेतना जोगाउन सहारा नेपाल चारपाने बिर्तामोडको संयोजनमा सो कार्यक्रमको आयोजना गरीएको हो। सो सांगीतिक कार्यक्रमपछि प्रदेश नम्बर १ मा दुर्घटना न्यूनिकरण महाअभियान को सुरुवात भएको महाअभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए।
'दिनहुँजस्तो हुने सवारीसाधन दुर्घटनालाई निरुत्साहित गर्न प्रचारात्मक अभियानका लागि नेपथ्य ब्याण्डलाई निम्तो गरिएको हो, सबै युवायुवतीलाई गीतको बीचमा चेतनामुलक सन्देश पनि दिइयो,' संयोजक गिरीले भने। 
यो कार्यक्रमपछि प्रदेश नम्बर-१ मा दुर्घटना न्यूनिकरण महाअभियान सुरु हुने भएको छ। सडक दुर्घटना न्यूनिकरण महाअभियान प्रदेश नम्बर एकका मुख्य सहरमा सञ्चालन हुने छ। कार्यक्रमबाट संकलित रकम सडक दुर्घटना न्यूनिकरण महाअभियानमा खर्च गरिने आयोजकले जनाएको छ। 
महाअभियानको दोस्रो चरणमा चैत्र मसान्तसम्ममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर, १० वटा र्यालडर गन र तीनवटा जेब्राक्रस मार्किङ मेसिन प्रदान गर्ने महाअभियानका संयोजक गिरीले जानकारी दिए।
तेस्रो चरणमा आगामी बैशाख महिनादेखि ट्राफिक नियमको बृहत रुपमा सचेतना कार्यक्रम आयोजना गर्ने बताइएको छ। नियम बिपरित राखिएका होडिङ बोर्ड हटाउने, वाताबरणमैत्री पर्चा पम्प्लेट वितरण गर्ने, सञ्चारमाध्यमबाट सचेतनामुलक कार्यक्रम प्रकाशन प्रशारण गर्ने तथा कार्यक्रमको समीक्षा गरेर त्यसपछिका ढाँचामा फेरबदल गर्ने योजना रहेको संयोजक गिरीले बताए। कार्यक्रमको चौथो चरणमा बिर्तामोडसहित प्रदेशका मुख्य सहर दमक, बिराटनगर, इटहरी, धरानलगायतमा ट्राफिक लाइट जडान गरिने छ।
ट्राफिक लाइट जडान गर्न ३ करोड ६० लाख, नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तूतिका लागि ५० लाख ट्राफिक नियम सचेतनाका लागि २० लाख, ट्राफिक प्रहरी कार्यालयलाई उपकरण हस्तान्तरणमा ७० लाख गरी जम्मा ५ करोड रुपैयाँ लागतमा अभियान सञ्चानल गरिने अध्यक्ष गिरीले जानकारी दिए।
(अन्नपुर्ण पोस्ट)