बुद्ध जन्मस्थल लुम्बिनी अवलोकनमा आउने विदेशी पर्यटक बढेका छन्। सन् २०१८ मा १ सय ८ मुलुकका पर्यटकले पुरातात्त्विक स्थल अवलोकन गरेको कान्तिपुर अनलाइनले लेखेको छ। यहाँ आउने स्वदेशी र भारतीयको संख्या बढिरहेको छ।
बुद्धस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर नजिक रहेको पुष्करणी पोखरी परिक्रमा गर्दै श्रीलंकन उपासक–उपासिका। सन् २०१८ मा सबैभन्दा बढी श्रीलंकाका ५९ हजार ९ सय ५९ पर्यटकले लुम्बिनी अवलोकन गरेका थिए। 
मुलुकमा सहज अवस्था र लुम्बिनी केन्द्रित राष्ट्रिय/अन्तर्राष्ट्रिय कार्यक्रमले पर्यटक बढदै गएका हुन्। अहिले यस क्षेत्रको प्रवद्र्धनमा संघीय र प्रदेश सरकार जुटेका छन्। लुम्बिनी विकास कोषले बौद्ध धर्मावलम्बी लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ। मुलुकभित्र द्वन्द्वको अवस्था छैन। राजनीतिक स्थिरता देखिएको छ। ‘यहाँ मात्र नभएर छिमेक र बौद्ध मुलुकमा राम्रो माहोल छ,’ लुम्बिनी विकास कोष सूचना अधिकृत राजन बस्नेतले भन्नुभयो, ‘त्यही भएर विदेशी धेरै आए।’
लुम्बिनीको पर्यटन प्रबद्र्धनमा सरकारले प्राथमिता दिएको उहाँको भनाइ छ। गत वर्ष सरकार र राष्ट्रप्रमुख सहभागी भएर बुद्धजयन्ती र दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएकाले त्यसले पनि विदेशीलाई आकिर्षत गर्न मद्धत गरेको बताउनुभयो।
गत कात्तिक अन्तिममा तीन दिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ र मंसिर पहिलो साता भएको भद्रचर्या उत्सवले बौद्धमार्गी र अध्येताको ध्यान तान्यो। बुद्धको जन्मथलोमा १८ मुलुका बौद्ध धर्मावलम्बीले तीन दिने त्रिपिटक पाठ गरे। १० मुलुकका लामा, गुरु र रिम्पोछेंले भद्रचर्या उत्सवमा शान्तिका सन्देश फैलाए। दुवै कार्यक्रम यहाँ पहिलो पटक आयोजना गरिएका थिए।