अध्ययन भएको २१ वर्षपछि पाँचथर जिल्ला र तेह्रथुम जिल्लाको बीचबाट बग्ने तमोर नदीबाट र्‍याफ्टिङ सेवा सुरू भएको छ। तमोर ड्यामको माध्यमबाट विद्युतिकरणको विग प्रोजेक्ट गर्ने भन्ने चर्चा चलिरहेको बेला उत्साहित युवाहरूको सक्रियतामा र्‍याफ्टिङ सेवा सुरू भएको हो।

पाँचथरको हिलिहाङ गाउँपालिका २ र ४ को सीमानापिनासीघाटबाट  तेह्रथुम–पाँचथरको  सीमाना माझिटारसम्म तमोर नदीमा र्‍याफ्टिङ सेवा सुरू भएको हो। र्‍याफ्टिङको लागि सन् १९९७ मा ताप्लेजुङको दोभानदेखि सुनसरीको चतरासम्म तमोर नदीमा सर्वे भए पनि त्यसको २० वर्षपछि सेवा सुरू भएको हो। 

जलयात्रामा रमाउन चाहनेहरूका लागि फिदिमस्थित तमोरभ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रालिले व्यवसायिक रूपमा र्‍याफ्टिङ सेवा सञ्चालनमा ल्याएको हो। काठमाडौंस्थित रिभर एड्भेन्चर ट्रेल्सको प्राविधिक सहयोगमा र्‍याफ्ङि सेवा सञ्चालनमा ल्याइएको प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्र तुम्बापोले बताए।

पिनासीघाट–माझिटार करिब १२ किलोमिटर दूरी पार गर्न अढाइ घन्टा लाग्ने राइडर मगरको भनाइ छ। अहिले ८ जना क्षमताको बोटमार्फत् हरेक दिन एक पटक र्‍याफ्टिङ सेवा दिँदै आएको निर्देशक तुम्बापोले बताए।

जिल्लामा पहिलोपल्ट र्‍याफ्टिङ सञ्चालनमा आएकोले यसमा रमाउने पनि उत्तिकै आउन थालेको निर्देशक तुम्बापो बताउँछन्।फिदिमदेखि मेची राजमार्ग हुँदै हिलिहाङ–१भालुचोकदेखि कच्ची बाटो भएर पिनासीघाट पुगिन्छ। फिदिम–पिनासी ६१ किलोमिटर र माझीटार–फिदिम १० किलोमिटर यातायात सेवा पनि तमोरभ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रालिलेनै दिँदै आएको निर्देशक तुम्बापोले बताए।

यातायात यात्राको क्रममा खाजा पानी र र्‍याफ्टिङ सेवासहित प्रति व्यक्ति ३ हजार रुपैयाँ टिकट लिँदै आएको उनको  भनाइ छ। जलपर्यटनको सम्भावनासँगै पाँचथर र पूर्वी पहाडमा पर्यटनको माध्यमबाट स्थानीयहरूलाई आय आर्जनमा सहभागी गराएर समृद्धिको ढोका खोल्ने सपना देखेका छन् तमोर भ्याली गेष्ट हाउस समेत सञ्चालन गर्दै आएका दीपेन्द्र तुम्वापोले।

पाँचथरकै बाटो भएर कञ्चनजंघा वेस क्याम्प पाथिभरा तिम्वुपोखरी जस्ता पर्यटकीय तथा धार्मिक क्षेत्रमा जाने आन्तरिक र बाह्रय पर्यटकहरूलाई आकर्षित गर्न सकेको खण्डमा यस क्षेत्रका थुप्रै युवाहरूले रोजगारी पाउनुका साथै आय आर्जनमा समेत टेवा पुग्ने देखिन्छ । त्यसतर्फ सरोकारवालाहरूको ध्यान जान जरुरी छ।

(सेतोपाटी)