प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध विरुद्ध प्रहरी कर्मचारीहरू उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्रमाणमुखी र सफल अनुसन्धान गर्न कटिवद्ध हुनुपर्ने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको निरीक्षणको क्रममा आइतबार उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।
अवैध हातहतियार, महिला हिंसा, लैंगिक हिंसा, भ्रष्टाचार, गुण्डागर्दी, चोरी, डकैती लगायतका अपराधमा प्रहरी कडा रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले अपराध गर्ने सानो ठूलो नहुने भएकोले अपराधी जो सुकै होस कानुन बमोजिम कारवाही गर्नुपर्ने बताउनुभयो । कार्यालयमा आउने सेवाग्राहीलाई पीडितमैत्री व्यवहार प्रदर्शन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यालय व्यवस्थापन, जिन्सी सामान लगायत कार्यालय साधनस्रोत दुरुस्त हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले आकस्मिक अवस्था परेको बेला तत्काल फिल्डमा खटिन हरहमेसा तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । संगठनको नीति विपरीत काम गरेमा जो सुकै पनि कारवाहीको भागिदार हुने उहाँले बताउनुभयो ।
समुदाय-प्रहरी साझेदारी अवधारणा कार्यक्रमबाट अपराध अनुसन्धान लगायत सवै प्रकारका प्रहरी कार्यमा पर्याप्त सहयोग पुग्ने भएकोले यसको कार्यान्वयनमा थप सक्रियता अपनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरीले प्रविधिको उच्च प्रयोग गरी छिटो छरितो काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका अभियुक्तका आफन्तहरूसँग तथा पीडित परिवारसँग भेटघाट समेत गर्नुभएको थियो ।

(नेपाल प्रहरी )