मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ।कैलाश गाउँपालिकाभित्रका पाँच स्वास्थ्यचौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो। उक्त गाउँपालिकाले एप्स निर्माण गरी पाँचवटै स्वास्थ्यचौकीमा एप्ससहितको मोबाइल वितरण पनि गरेको छ। वितरित मोबाइलमा रहेको एप्समा आफ्नो सेवा क्षेत्रमा रहेका गर्भवती र सुत्केरीबारे जानकारी विवरण स्वास्थ्यचौकीमा कार्यरत प्रसूति सेवा हेर्ने कर्मचारीले अद्यावधिक गर्नेछन्। 
अद्यावधिक गरिएको विवरणबमोजिम एप्सले समयावधिको आधारमा ‘नोटिफिकेशन’ पठाउने र सोहीबमोजिम स्वास्थ्यकर्मीले गर्भवती र सुत्केरीलाई आवश्यक परामर्श र स्याहारका लागि परामर्श दिने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष टङ्कबहादुर मोक्तानले बताउनुभयो।

‘स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवासुविधालाई प्रविधिसँग जोडेर सहज पार्न खोजेका छौँ’, अध्यक्ष मोक्तानले भने, ‘हामी बिकट र दुर्गममा पनि प्रविधिको उपयोग गरेर जनतालाई सजिलो पर्ने गरी सेवा दिन लागेका छौँ।’ एप्सको प्रयोगबाट सुत्केरी र गर्भवतीको विवरण अद्यावधिक हुने र उनीहरुको स्याहार गर्न सजिलो हुने उहाँले जानकारी दिनुभयो।

गाउँपालिकाले चालू आर्थिक वर्षदेखि एउटा स्वास्थ्य केन्द्रमा बालबालिका जन्म गराउने सङ्ख्या ३० भन्दा बढी भएमा प्रतिबालबालिका रु ५०० का दरले कर्मचारीलाई समेत प्रोत्साहन भत्ता दिने जनाएको छ।

‘स्वास्थ्य संस्थामा बच्चा जन्माउनेको सङ्ख्या वृद्धि गर्नका लागि कर्मचारीलाई सक्रिय पार्न यस्तो निर्णय गरेका हौँ’, अध्यक्ष मोक्तानले भन्नुभयो। भार्ता, कालिकाटार, नामटार, गोगने र डाँडाखर्क गरी पाँच स्वास्थ्यचौकीमा बच्चा जन्माउने सङ्ख्यामा वृद्धि हुनेछ।

पाँचै स्वास्थ्यचौकीमा प्रसूति सेवाका लागि गाउँपालिकाले गर्ने व्यवस्थामा कमी नआउने र सङ्ख्या वृद्धि गरेमा कर्मचारीलाई प्रोत्साहन गर्ने नीति गाउँपालिको रहेको छ।