सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम पुलिस सरस्वती युथक्लबसँग बराबरीमा रोकिएको छ । एपीएफको हलचोक मैदानमा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा पुलिसले सरस्वतीसँग १–१ गोलको बराबरी खेलेको हो । 

खेलको ४९ औं मिनेटमा भिक्टोरको पेनाल्टी गोलमार्फत सरस्वतीले अग्रता बनाएको थियो । पुलिसका खेलाडीले सरस्वतीका तिर्थ बस्नेतलाई डिबक्स भित्र फल गरेपछि सरस्वतीले पेनाल्टीको अवसर पाएको थियो । 

५३ औं मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । निरकुमार राईको पासलाई सदुपयोग गर्दै रवि पासवानले पुलिसका लागि बराबरी गोल गरेका थिए । बराबरीसँगै पुलिसको शीर्ष ६ को स्थान जोखिमपुर्ण बनेको छ ।

पुलिसले १२ खेलबाट १८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा यथावत छ । एक खेल कम खेलेको हिमालयन शेर्पा १७ अंकसहित सातौ स्थानमा छ । सरस्वती १३ अंकसहित तालिकाको १० औं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

यस्तै आज भएको पहिलो खेलमा पनि च्यासल युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । एपीएफको हलचोक मैदानमा लिगको आफ्नो अन्तिम खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

खेलको १० औं मिनेटमा अरुज सिंहले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । अफ्रिकन खेलाडी लावलले हानेको फ्रिकिकमा अरुजले हेडमार्फत गोल गरेका थिए । ३२ औं मिनेटमा च्यासल छिरिङ गुरुङको पेनाल्टी गोलमार्फत खेलमा फर्कियो । 

डिबक्स भित्रजावलाखेलले फल गरेपछि प्राप्त पेनाल्टीमा च्यासलगोल गर्न सफलभएको थियो । आठौँ स्थानको च्यासलले १३ खेलबाट १५ अंक जोड्यो भने जावलाखेलले १३ खेलबाट १३ अंकजोडेको छ ।